चित्र र मूर्तिकलाको पुस्तक सार्वजनिक



काठमाडौं उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषयमा केन्द्रित रही लेखिएको पुस्तक सार्वजनिक गरिएको छ ।

डा. नरेश शाक्य, स्वस्ति राज भण्डारी र सञ्जय शाक्यद्वारा लिखित तथा प्रा. डा. शंकर थापाले सम्पादन गरेको पुस्तक नेवार आर्ट ट्रयाडिसनस् हिस्टोरिकल रेमिनिसेन्स अफ पेन्टिङ एन्ड स्टोन आर्ट अफ नेपाल मण्डलाको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले राजधानीमा आयोजित एक समारोहकाबीच सार्वजनिक गरे । पुस्तकमा काठमाडौं उपत्यकामा विकास भएको कलाकाबारे चर्चा गरिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव विपिन कुमार घिमिरेले पुस्तक खोज अनुसन्धान गरेर ल्याएकाले सबै लाभान्वित हुने विचार व्यक्त गरे । लेखक स्वस्ति राज भण्डारीले नेपालमा विकास भएको कला परम्परा चिनाउन पुस्तक निकै उपयोगी हुनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गरिन् । ‘नेपाली पौभा कलाको शैली र त्यसका बारेमा पुस्तकले धेरै नै जानकारी दिन सफल हुनेछ’ उनले भनिन् । अर्का लेखक सञ्जय शाक्यले नेपाली प्रस्तर मूर्तिकलाको विकास र परम्परालाई पुस्तकमा चित्रण गरिएको बतातए भने डा. नरेश शाक्यले तीनै जना लेखकले मिहिनेत गरेर पुस्तक प्रकाशन गरेको सुनाए । उनले भुटानदेखि लद्दाखसम्म तिब्बतसँग जोडिएको हिमालय क्षेत्रमा फैलिएको तिब्बती कलामा नेपाली कला परम्पराको प्रभाव रहेको जिकिर गरे। प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपालीकला परम्परामा बुझ्न पुस्तक निकै उपयोगी रहेको धारणा व्यक्त गरे ।

प्रतिष्ठानका प्राज्ञ तथा हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले नेपालको कलाको चिन्तन, शैली, परम्परा र ऐतिहासिक सामाजिक, धार्मिक तथा सांस्कृतिक पक्ष नियाल्न पुस्तक निकै उपयोगी रहेको बताए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागले प्रकाशन गरेको पुस्तकले नेपाली कला परम्परामा विकास भएका विविध शैली, माध्यम र चिन्तनलाई नियाल्न सघाउ पुर्‍याउने वत्ताहरुको ठम्याइ थियो।

प्रतिक्रिया दिनुहोस्