निर्माण व्यवसायीलाई छिट्टै खोप

378
Shares

काठमाडौं, (नेस) । 

स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले निर्माण व्यवसायीलाई यथाशक्य चाँडो कोभिड—१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा राज्यमन्त्री श्रेष्ठले अग्रपङक्तिमा खटिने निर्माण व्यवसायीहरूका लागि खोप अनिवार्य भएको बताउनुभयो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सो माग गरेको थियो ।

निर्माण उद्योगले देशको कुल बजेटको ६० प्रतिशत खर्च गरिरहेको जानकारी गराउँदै महासंघ अध्यक्ष सिंहले आ–आफ्नो साइटहरुमा निर्माण व्यवसायीहरूले कोभिडको उच्च जोखिमका बीच अग्रपङक्तिमा खटिँदै काम गर्दै आएको जानकारी गराउनुभयो । विकास निर्माणका कार्यहरू नियमित सञ्चालन गरी देशको अर्थतन्त्रलाई चलायमान बनाई राख्न पनि निर्माण उद्योगमा आबद्ध देशभरका व्यवसायीलाई खोप अनिवार्य भएको अध्यक्ष सिंहले बताउनुभयो ।

महासंघ प्रतिनिधिमण्डले अघिल्लो बजेटमा उल्लेख भएबमोजिम निर्माण आयोजनाहरूको म्याद थप, धरौटी रकम फिर्तालगायतका विषय सम्बोधन गरिदिन स्वास्थ्य राज्यमन्त्रीसमक्ष आग्रह गरेको छ ।