कविकुञ्ज पुनर्निर्माणको शिलान्यास


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा मैतीेदेवीमा पुनर्निर्माण हुन लागेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’लाई ‘महाकवि देवकोटा सङ्ग्रहालय’का रूपमा पुनर्निर्माण गर्ने कार्यको थालनी भएको छ ।

बिहीबार मध्याह्न १२ बजेर २५ मिनेटको शुभसाइतमा वैदिक विधिअनुसार प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘महाकवि देवकोटा सङ्ग्रहालय’ भवन पुनर्निर्माण कार्यको शिलान्यास गर्नुभयो । शिलान्यासअघि मैतीदेवी मन्दिरमा प्रज्ञा–प्रतिष्ठानका तर्फबाट क्षमापूजासमेत गरिएको थियो ।

शिलान्यास कार्यक्रममा उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्यहरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल, प्राज्ञ सभाका सदस्यहरू, कामपा वडा नं.३० का अध्यक्ष दलबहादुर कार्की, महाकवि देवकोटाका पुत्र डा. पद्मप्रसाद देवकोटा, माइली छोरी अम्बिकादेवी रिमाललगायतका परिवारजन र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । उपप्रा.ज्योतिषी हरिप्रसाद पौडेल र उपप्रा. केशवशरण अर्यालले शिलान्यास समारोहमा वैदिक विधिअनुसार पूजा कार्य सञ्चालन गर्नुभएको थियो ।

शिलान्यासपछि बोल्दै कुलपति उप्रेतीले जनसरोकारको विषय रहेको महाकवि देवकोटा सङ्ग्रहालयलाई पुरानै स्वरूपमा तर भूकम्प प्रतिरोधी आधुनिक प्रविधिको प्रयोग गरी पुनर्निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘राष्ट्रिय गौरवका रूपमा रहेको ‘महाकवि देवकोटा सङ्ग्रहालय’ भवनको पुनर्निर्माण कार्य एक वर्षभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।’ कुलपति उप्रेतीले महाकवि देवकोटा सङ्ग्रहालयसम्बन्धी चासो राखी विभिन्न ढङ्गबाट सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास ‘कविकुञ्ज’ लाई ‘सङ्ग्रहालय’का रूपमा निर्माण गर्ने उद्घोष गरेपछि सरकारकै योजनाअनुरूप विभिन्न प्रक्रिया पूरा गरी नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’ लाई सङ्ग्रहालयका रूपमा पुनर्निर्माण गर्न साढे २ करोड रुपियाँ तिरी देवकोटा परिवारबाट १२ आना एक दाममा फैलिएको सो घर र जग्गा किनेको थियो ।

महाकवि देवकोटाको सो घर वि. सं. २ हजार सालमा बनेको हो । उक्त घर विगत १५ वर्षदेखि प्रयोगमा थिएन । अझ २०७२ सालको विनाशकारी भूकम्पबाट थप क्षतविक्षत भएको उक्त घर नेपाल प्रज्ञा–प्रतिष्ठानको हकभोगमा आएलगत्तै पटकपटक विशेषज्ञ प्राविधिकहरू र सरोकारवालासँग बसेर सबलीकरण गर्न सकिने/नसकिने विषयमा स्थलगत अवलोकनसहित छलफलसमेत गरेको थियो ।

जीर्ण अवस्थामा रहेको भवन अवलोकन गर्दा भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटा काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको, त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तलातलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमा समेत पाइला टेक्दा धसिने गरेको अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको पाइएको थियो ।

उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । प्रस्तावित सङ्ग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्तालाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको हो ।

सङ्ग्रहालय निर्माण गर्ने क्रममा प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिनेछ । प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहने, प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा रहने, परिसरमा अवलोकनकर्ताले प्रयोग गर्ने दुई÷तीनओटासम्म हलुका सवारीसाधन पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिनेछ । सङ्ग्रहालयको भुइँतलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्यदृश्य सामग्री रहनेछन् । पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्री रहनेछन् । दोस्रो तलामा देवकोटाका प्रकाशित कृति, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपि र स्वदेशी तथा विदेशी विद्वान्द्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृति तथा शोधपत्र रहनेछन् ।

तेस्रो तला अर्थात् अन्तिम तलामा सङ्ग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहनेछ । साथै भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताका लागि लिफ्टको व्यवस्था गरिनेछ ।