मिडिया उद्यमी शेरचनको कोरोनाबाट निधन

28
Shares

काठमाडौं, नेपाल समाचारपत्र ।

कोराना संक्रमणका कारण राजधानी न्युज पब्लिकेसन्सका अध्यक्ष एवं सञ्चार उद्यमी महेन्द्र शेरचनको बुधबार निधन भएको छ ।

नेपाली मिडिया क्षेत्रले सक्रिय उद्यमी गुमाएको भन्दै मिडिया अलाइन्सले अलाइन्सका उपाध्यक्ष, नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्ष तथा राजधानी दैनिकको प्रकाशन संस्था राजधानी न्युज पब्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष शेरचनको कोरोना संक्रमणबाट निधन भएको खबरले स्तब्ध बनाएको बताएको छ ।

मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै स्वर्गीय शेरचनलाई नेपाली सञ्चार उद्योगका एक अथक् योद्धा, आजीवन नेपाली छापा माध्यमको व्यावसायिकताका लागि समर्पित, खास गरी आफ्नो जीवनको पछिल्लो समयमा सम्पूर्णरूपमा नेपाली सञ्चारको वृहत्तर विकास र विस्तारमा केन्द्रित, मिडिया अलाइन्स नेपालको संगठनात्मक सुदृढीकरणका लागि सक्रिय र मूलधारको राष्ट्रिय सञ्चारमाध्यमहरूलाई उचाइ दिलाउने कार्यमा लागिरहेको व्यक्तित्वका रूपमा उच्च मूल्यांकन गरिएको बताएको छ ।

संविधानसभाका सदस्यसमेत रहनुभएका शेरचनको निधनप्रति मिडिया अलाइन्स नेपाल नेपाल कम्युनिस्ट पार्टी एमालेलगायतले दुःख व्यक्त गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालको सञ्चार क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान गर्दै आउनुभएका स्वर्गीय शेरचनको असमायिक निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

विज्ञप्तिमा पछिल्लो समय स्वर्गीय शेरचनले सञ्चार उद्यमीहरूको संगठन मिडिया अलाइन्स र सरकारद्वारा गठित विज्ञापन बोर्डको नेतृत्व तहमा रहेर उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख छ ।

कोरोना संक्रमणले सिकिस्त हुनुभएका शेरचनको नेपाल एपीएफ अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्षसमेत रहनुभएका स्वर्गीय शेरचनले नेपाली चलचित्र शंकरको निर्माण पनि गर्नुभएको थियो । शेरचनको पार्थिव शरीरको बिहीबार अन्तिम संस्कार गरिएको थियो । स्वर्गीय शेरचनका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।