पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो

0
Shares

बैतडी, (नेस) ।

बैतडीको पाटन नगरपालिका कार्यालय र १० ओटै वडा कार्यालयहरूमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ । तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरूले नगरपालिका र वडा कार्यालयहरूमा गरेको तालाबन्दी खोलिएको हो ।

यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूले आफ्नो हकहितका लागि उठाएका जायज मागहरूलाई नगरपालिकाले सकरात्मक रूपले लिएको र संघीय सरकारले सशर्त अनुदानको रूपमा पालिकालाई अनुदान उपलब्ध नगराए पनि आन्तरिक स्रोत हेरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो ।

विज्ञप्तिमै टेकेर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि र संघर्ष समितिबीच विभिन्न सहमति भएपछि ताला खोलिएको विद्यालय कर्मचारी गोपाल महराले जानकारी दिए ।

अहिले नगरपालिकाका प्रमुख केशव बहादुर चन्द नगरबाहिर रहेका र उहाँ आउनेबित्तिकै संघर्ष समितिसँग बसेर छलफल गर्ने, वार्ता भएको १/२ दिनभित्रै कार्य पालिकाको बैठक बोलाएर माग सम्बोन्धन गर्न सहमति भएपछि ताला खोलिएको महराको भनाइ छ । नगर प्रमुख आइसकेपछि पनि आफ्ना मागहरू पुरा नभए फेरि सशक्त रूपले आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी दिएको छ ।

संघीय सरकारले बजेट भाषणको बेला बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार हुनुपर्ने र त्यसमा ७ हजार स्थानीय सरकारले थप्नुपर्ने भनेको भए पनि पाटन नगरपालिकाले त्यो कार्यान्वयन नगरेकाले उनीहरूले तालाबन्दी गरेका थिए ।