पुनर्गठित र रूपान्तरित अभियान आवश्यक : नेपाल

154
Shares

काठमाडौंं, (नेस) ।

नेकपा एमालेबाट विद्रोह गरी आफ्नै अध्यक्षतामा नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गर्नुभएका माधवकुमार नेपालले आफ्नो पार्टी एमाले रुपान्तरणको अभियानमा लाग्ने बताउनुभएको छ । उहाँले देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको दायित्वबाट आफू नपन्छिने बताउँदै देश र जनताप्रति आफ्नो कर्तव्य पूरा गर्ने बताउनुभयो ।

निर्वाचन आयोगमा बुधबार नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एक अपिल जारी गर्दै अध्यक्ष नेपालले नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेको देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडानका साथ पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । एमालेले स्थापित गरेको विचारको विविधतालाई आत्मसात् गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्नु आफूहरूको मुख्य उद्देश्य भएको बताउँदै नेपालले भन्नुभयो– ‘एमालेलाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ ।’

अपिलमा एमाले पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा नेकपा (एमाले) बाट वैधानिक रुपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेको उल्लेख गरिएको छ । नेपालले कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आआफ्नो ठाउँमा खट्न र सहयोग पुर्‍याउन पनि सबैमा अपिल गर्नुभएको छ ।

‘विसं. २०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्माण हुनु नेपाली कम्युनिस्ट आन्दोलनलाई आधारभूत रूपमा एकीकृत गर्ने एउटा ऐतिहासिक घटना थियो तर केपी ओलीकै गलत विचार र व्यवहारका कारण त्यो ऐतिहासिक एकता टिक्न सकेन’ –अपिलमा भनिएको छ ।

आफूहरूले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गरेको तर ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि पार्टी एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भएको अपिलमा भनिएको छ । अपिलमा भनिएको छ– ‘पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ ।’