कोप्रे झरनामा पर्यटकको चहलपहल


प्रताप बानियाँ, म्याग्दी ।

कोप्रे छहरामा पहिल्यैदेखि नै मानिस जाने गर्दथे । खास गरी कोप्रे छहरामा भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु पुगेर घुम्ने, फोटो खिच्ने र रमाउन गर्थे । विगतदेखि नै मानिसको चहलपहल हुने झरनामा पछिल्लोपटक कोरोना भाइरसका कारण जारी लकडाउनको बीचमा घुम्नेहरुको संख्या बढेको छ ।

बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्दको महसुस गर्न पाएको आन्तरिक पर्यटक प्रकृति ढंगानाले अनुभव सुनाउनुभयो । पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको म्याग्दीको कोप्रे झरनामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पर्ने पर्यटकीय सम्भावना बोकेको कोप्रे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै जान थालेको हो ।

भकिम्लीको दुधेखोला नजिकै अवस्थित कोप्रे झरनामा पछिल्लो समय दैनिकजसो पर्यटकहरु पुगेर रमाउने गरेका छन् । स्थानीयबासीले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा खास गरी शनिबार तथा बिदाको दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि झन्डै १ घण्टाको दुरीमा रहेको झरनामा हिजोआज पर्यटकको चहलपहल ह्वात्तै बढेको बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै रहेको झरनामा स–साना बालबालिकादेखि अधवैंशे उमेर समूहका मानिस पुग्ने गरेका उहाँको भनाइ छ । कोप्रे झरना भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना समेत भनेर चिन्छन् । लकडाउनको समयमा घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण तथा व्यस्त दैनिकीबाट ग्रसित उनीहरु एकैछिन भए पनि रमाउन कोप्रे झरना पुग्ने गरेका छन् ।

कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुन्छ । भ्रमण गर्न जाने कतिपय पर्यटकले यसलाई ‘वर्षे झरना’ को समेत नामकरण गरिदिएका छन् । भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै बग्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेको दिउँसोको समयमा इन्द्रेणी समेत पार्ने झरनाले पर्यटकलाई खुब लोभ्याइरहेको छ ।

कोप्रे झरनाको भ्रमण गर्न निस्कनुभएका अर्का आन्तरिक पर्यटक प्रकाश सुवेदीले सदरमुकाम बेनीबजारको नजिकै पर्ने कोप्रे झरना कोभिड–१९ का कारण प्रचारप्रसारले चर्चा बटुलेको बताउनुभयो । उहाँले झरनामा पुगेर रमाइलो गर्दा आफूलाई निकै आनन्दको अनुभूति मिलेको भन्दै सबैलाई यस झरनाको भ्रमण गरी रिफ्रेस हुनका लागि आग्रह गर्नुभयो ।

अहिले कोप्रे झरनामा म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्ली लगायतका क्षेत्रबाट प्रायः पर्यटकहरु घुम्न जाने गर्दछन् । झरनामा गर्मी छल्न तथा त्यहाँ पुगेर मोबाइलमा सेल्फी र भिडियो खिचेर रमाउन पाइने हुँदा खास गरी युवायुवती तथा केटाकेटी धेरै जाने गर्छन् । झरनामा आजभोलि दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

आन्तरिक पर्यटकको चहलपहल बढेपछि कोप्रे झरनालाई पर्यटकीय गन्तव्यको स्थलका रूपमा विकास गर्नका लागि आवश्यक पहल थालिएको छ । चालू आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाबाट तत्कालका लागि १ लाख बजेट विनियोजन भएको ज्यामरुककोटका वडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो ।