डोटीका विद्यार्थीलाई स्वअध्ययन सामग्री


डोटी, (नेस) ।

पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको छ । गुडनेवर्स इन्टरनेसनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा उक्त वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाअन्र्तगत बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।

कम्तीमा पनि ८ सय ५१ जना विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो । कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र विद्यार्थीले नयाँ पाठ्यपुस्तक वितरण भए पनि औपचारिकरूपमा कक्षा सञ्चालन नभएकाले उनीहरु को सिकाइ निरन्तरका लागि उक्त सामग्री वितरण गरिएको संस्थाका शिक्षा विकास अधिकृत एकराज बडुले बताउनुभयो । ‘कोरोना महामारीको त्रासले विद्यालय खुलेका छैनन्, विद्यार्थीहरुले पनि पढ्न नपाएका कारण हामीले पढाइमा सहज होस् भनेर स्वअध्ययन सामग्री वितरण गरेका छौं, जसले गर्दा बालबालिकालाई पढाइमा सहज हुँनेछ ।’ –उहाँले भन्नुभयो । संस्थाले वितरण गरेका स्वअध्ययन सामग्रीमा किताब, पेन्सिल, इलेजर, कलर पेनसिल, सापनरलगायका शौक्षिक सामग्री रहेको संस्थाले जनाएको छ ।

विद्यालय बन्द भएको समयमा अभिभावकहरुको सहयोगमा विद्यार्थीले घरमा नै अध्ययन गर्ने मिल्ने भएकाले तीसामग्री विद्यार्थीका लागि निकै उपयोगी रहेको पूर्वीचौकी गाउँपालिका–७ का वडाध्यक्ष प्रकाश साउदले बताउनुभयो । ‘स्वअध्ययन पुस्तकमा रहेका आकर्षण चित्रहरुको माध्यमबाट विद्यार्थीलाई पठनपाठनमा सहज तथा दिगो हुने भएकाले वितरण गरिएका सामग्री निकै उपयोगी छन् ।’ – उहाँले भन्नुभयो । सामुदायिक विकास केन्द्रले गुडनेवर्स इन्टनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि उक्त गाउँपालिकाको वडा नं ७ र दिपायल सिलगढी नगरपालिका–८ लडागडामा शिक्षा, बाल संरक्षण र प्रायोजित सेवासहितका कार्यक्रम सञ्चालन गरिरहेको छ ।