तानसेनको फोहोरमैला व्यवस्थापन गर्न निजी क्षेत्रसँग सम्झौता



पाल्पा, (नेस) ।

पाल्पा जिल्लाको सदरमुकाम तानसेनको फोहोरमैला व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सम्झौता भएको छ । तानसेन नगरभित्रको फोहोरमैला व्यवस्थापनका लागि तानसेन नगरपालिकाबाट सार्वजनिक निजी साझेदारी अवधारणामा बजार तथा आवासीय क्षेत्रको फोहोरमैला व्यवस्थापन आयोजना कार्यान्वयन लागि गरिएको सम्झौतापत्र आदान–प्रदान गरिएको हो ।

फोहोरमैला व्यवस्थापनका लागि नगरपालिका र वातावरणीय सुन्दर नेपाल प्रालिबीच सम्झौतापछि तानसेनको फोहोर अब सुन्दर नेपालले व्यवस्थापन गर्नेछ । हालसम्म तानसेन नगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापन तानसेन नगरपालिका स्वयंले गरिरहेको थियो । कार्यक्रममा तानसेन नगर सरकारका प्रमुख अशोककुमार शाहीले सार्वजनिक निजी ऐनको निर्माण गरी सार्वजनिक निजी क्षेत्रसँग जान सकिने कुराहरूको पहिचान गरेर निजी क्षेत्रलाई फोहोर उठाउन दिइएको बताउनुभयो ।

उहाँले नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि पुरानो पुस्तामा भन्दा नयाँ पुस्तामा थप कार्य गर्ने जोस हुने भएकाले कुनै पनि पक्षले प्रश्न उठाउन नसक्ने गरी फोहारमैलाको व्यवस्थापन गर्न संस्थालाई आग्रह गर्नुभयो । उहाँले शहरको विस्तार सँगसँगै सरसफाइ पनि एकैसाथ अगाडि बढेकाले सांस्कृतिक पक्ष र भावनात्मक पक्षलाई मध्यनजर गरिएका बताउनुभयो ।

कार्यक्रममा नगरपालिका उपप्रमुख लक्ष्मीदेवी पाठकले आगामी दिनमा नगरको सरसफाइमा निजी संस्थाले राम्रो काम गर्न सक्छ भनी उदाहरणीय बन्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डे, वडाध्यक्षहरूका तर्फबाट वडा नं ६ का वडाध्यक्ष सागरमान महर्जनले फोहोरलाई मोहरका रूपमा परिणत गर्न सकिने सम्भावना रहेकोे बताउनुभयो ।

वातावरणीय सुन्दर नेपाल प्रालिका अध्यक्ष कृष्णमाया कार्कीले कम्पनीले नगरपालिकाले दिएको जिम्मेवारीलाई संस्थाले गम्भीरतापूर्वक लिँदै नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्ने कार्य एक्लै व्यक्ति वा संस्थाले मात्र गरेर नहुने भएकाले नगरपालिकालाई स्वच्छ राख्ने कुरामा नागरिकलाई साथ दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्