मानव अधिकार मञ्चले गर्‍यो दुर्गाप्रसादको उद्धार


गणेश घिमिरे, इलाम ।

माई नगरपालिका–१० चिसापानीका दुर्गाप्रसाद तिम्सिनालाई विराटनगरस्थित मानव सेवा आश्रम लगिएको छ । बिनासुनुवाइ भारतीय जेलमा ४० वर्ष बिताएर घर फर्काइएका दुर्गाप्रसादलाई माई नगरपालिको समन्वयमा मानव अधिकार मञ्च नेपालले उद्धार गरेर बुधबार विराटनगरस्थित मानव सेवा आश्रम लगेको हो ।

‘नेपाल समाचारपत्र दैनिकमा ‘सुधार गृहमा राख्ने वातावरण बनाइदिन परिवारको आग्रह’ शीर्षकमा समाचार प्रकाशित भएपछि स्थानीय सरकारको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामले उद्धार गरेर बुधबार मानव आश्रममा लगेको थियो । आश्रममा केही दिन राखेर मनोविमर्श चिकित्सकमार्फत सेवा प्रदान गरिने र त्यसबाट पनि उपचारमा कुनै सुधार नभए काठमाडौंमा लगेर उपचार गराइने भएको छ ।

दुर्गाप्रसादको शारीरिक भन्दा पनि मानसिक स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँको परिवारले सुधार केन्द्रमा राख्ने वातावरण बनाइदिन स्थानीय सरकारसमक्ष आग्रह गरिरहेका थिए । दुर्गाप्रसादको मानसिक स्वास्थ्य अवस्था जटिल बनेको खबर सुनेपछि आफूहरुले माई नगरपालिकाको समन्वय लिएर मानव आश्रममा लाने वाताबरण बनाएको हो’, मञ्चका निर्देशक देवेन्द्र शंकरले भन्नुभयो– ‘मानव आश्रममा स्वास्थ्य उपचार गराउँदा निको नहुने छाँट देखिएन भने उपचारका लागि काठमाडौं लाने छौं ।’ पछिल्लो समय प्रभावकारी उपचार नपाएपछि दुर्गाप्रसाद मानसिकरूपमा विक्षिप्त बनेका छन् । ‘ठूलो बुबाको मानसिक स्वास्थ्य यतिसम्म जटिल बन्यो कि नालीको फोहोरपानी उठाउँदै पिउने, आफ्नै सुत्ने कोठामा पिसाब गर्ने, घरका अन्य सदस्यलाई कुट्न झम्टिने, घरमा थाहै नदिई टाढा–टाढासम्म जाने, झारपात, ढुंगामाटो खाइदिनेसम्म हुन थाल्यो’, दुर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले भन्नुभयो– ‘एकदिन त बेलुका घरबाटै बेपत्ता बनेपछि ८ घण्टापछि मध्यरातमा प्रहरीले फेला पारेका थिए ।’

उता मानव आश्रममा हुने उपचार, खाना र यातायातबापत लाग्ने खर्चमध्ये ५० हजार रुपियाँ माई नगरपालिले प्रदान गर्ने भएको छ । यसअघि पनि गत वैशाखमा माई नगरपालिकाले उपचार र यातायात खर्चबापत ६७ हजार रुपियाँ प्रदान गरेको थियो । सो समयमा उहाँलाई गत वैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेजमा १६ दिन उपचार गरी घर ल्याइएको थियो ।