नेतालाई कालो टीका



नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनको कालो टीका लगाउने भएका छन् । यस्तै टीका लगाउनेमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम पनि थपिएको छ । लोकतान्त्रिक संस्कार, सहिष्णुता र त्यागपूर्ण व्यवहारको अभावले दुई तिहाइ बहुमतनिटक रहेर शासन चलाइरहेको एमाले सत्ताबाट त गलहत्तियो नै एकीकृत पार्टीका रूपमा पनि संगठित हुन सकेन ।

प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विभाजन गर्नकै लागि अध्यादेश ल्याइएको छ । अध्यादेश ल्याउनकै लागि सरकारले सोमबार संसद् अधिवेश अन्त्य गरेको छ । नेकपा एमालेमा देखिएको विवाद समाधान नहुने भएपछि नेकपा एमालेका वरिष्ठ नेता नेपालको जोडबलमा सरकारले उक्त अध्यादेश ल्याइएको बताइन्छ । संसदीय दल र केन्द्रीय समितिमा दल विभाजन गर्ने संख्या अपुग भएपछि नेपालले आफूलाई सजिलो हुने गरी अध्यादेश ल्याउन सरकारलाई आग्रह गरेका कारण देउवा सरकारले अलोकप्रिय हुने भए पनि सत्ता गठबन्धन टिकाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको हो । संसदीय व्यवस्थालाई नै उपहास हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेर अलोकप्रिय बनेको केपी ओली सरकारलाई समेत माथ खुवाउने गरी देउवा सरकारले कलंकको टीका लगाएको छ । एक अमुक दल विभाजन गर्नका लागि संसद् अधिवेशन अन्त्य गरी अध्यादेश ल्याएर आफूलाई पुनः अलोकप्रियताको सिंढीमा चढाउने कार्य देउवाले गर्नुभएको छ ।

यसले अहिले एमाले विभाजन गर्न मद्दत त गर्ला भोलि आफ्नै दलमा पनि यो रोग लाग्नसक्छ भन्नेतर्फ प्रधानमन्त्री देउवाले ध्यान दिएको देखिएन । हिजो अध्यादेशबाट देश चलाउन खोजेको भन्दै ओलीको तीव्र आलोचना गर्ने देउवाले नै आज आफू अनुकूलको सरकार बनाउन यस्ता कदम चाल्नुले संसदीय व्यवस्थाप्रति नै वितृष्णा पैदा गर्ने काम सरकारको नेतृत्व गर्ने दलका नेताबाट हुनुलाई दुखद मान्नुपर्दछ । मुलुकको विद्यमान संसदीय व्यवस्था नै असफलतातिर जाँदै त छैन भन्ने प्रश्नलाई विगत र वर्तमानका सरकारबाट बल पु¥याउने काम भएको छ । अहिले पुरातनवादी सोच भएकाहरू राजा आऊ देश बचाऊको नारा घन्काइरहेका बेला सरकारबाट भएको अलोकप्रिय निर्णयले उनीहरूलाई मलजल गर्ने नै भयो ।

आज युवा पिंढीमा देखिएको उदासीनताले नेपालको राजनीति कता जाला त्यो अर्को अहम् सवाल बनेको छ । नेताहरूले देखाउनुपर्ने नैतिकतामा खडेरी परेपछि युवा वर्गमा वितृष्णा आउनुलाई अस्वाभाविक मान्न सकिन्न । मुलुकको संसदीय व्यवस्था नै असफल भयो भने मुलुक कता जाला यसतर्फ नेतागणले ध्यान दिनुपर्ने थियो तर त्यो हुन सकेको देखिँदैन । आफ्नै स्वार्थ र सत्ताप्राप्तिका लागि जे पनि गर्नुपर्छ भन्ने मानसिकताले काम गरेको देखिन्छ । कम्तीमा पनि भोलिको पिंढीले गएको पुस्ताबाट संघीय लोकतान्त्रिक गणतन्त्रको लाज कसरी बचाउनुपर्छ भन्ने पाठ सिक्न पाउने भएन । जसरी हुन्छ, सत्तामा जानु र सत्ता टिकाउनु नै राजनीतिक दर्शन, सिद्धान्त र व्यवहार हो भन्ने घिनलाग्दो अभ्यास उनीहरूले विरासतमा पाउने भए । यसलाई कालो टीकाका रूपमा नेपाली इतिहासले अवश्य अभिलेखमा लिनेछ ।

प्रतिक्रिया दिनुहोस्