पतञ्जली कलेजमा विद्यार्थीले शुल्क नतिरेको भन्दै पढाई बन्द

7.4k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर धुलिखेलले विद्यार्थीहरुले शुल्क नबुझाएको भन्दै अध्ययन रोकिदिएको छ । विद्यार्थीहरुले अध्ययन सुचारु गर्न माग गर्दै धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालय र कलेजको केन्द्रिय कार्यालयमा धर्ना तथा ध्यानाकर्षण गराएका छन् ।

केन्द्रिय कार्यालयका प्रमुख ट्रष्टी इन्जिनियर शालिकराम सिंहले भेट नदिएपछि आक्रोशित विद्यार्थीहरुको समुहले नाराबाजी गरे पछि प्रहरीले नियन्त्रणमा लिएर एक घण्टा पछि रिहा गरिदिएको विद्यार्थी रुपेश ठाकुरले बताउनु भयो । ‘साउन १ गते देखि कलेज प्रशासनले केन्द्रिय कार्यालयको निर्देशन भन्दै अनलाईन कक्षा बन्द गरिदिएको छ’–चौथो वर्षमा अध्ययनरत विद्यार्थी रुपेश ठाकुरले भन्नुभयो–‘विषम परिस्थितिमा स्वास्थ्य जस्तो संवेदनशिल विषयको अध्ययन रोक्नु प्रशासनको ग्रैह् जिम्मेवारी हो ।

  • ‘पैसा नतिरेकाले बन्द ग-यौ’ : प्रिन्सिपल
  • ‘अध्ययन शुरु भए पछि तिर्छाै’ : विद्यार्थी

विद्यार्थीहरुले अध्ययन सकिँदासम्म किस्ताबन्दीका आधारमा रकम तिर्ने प्रतिवद्धता गरेका छौं तर पनि क्याम्पस प्रशासन मानिरहेको छैन ।’ प्रशासनले शुल्क बुझाउन पटक पटक सूचना जारी गर्दा पनि विद्यार्थीहरुले ७ महिना देखि रकम नबुझाएको प्रिन्सिपल डा. चन्द्रकिशोर यादवले बताउनु भयो–‘कलेजको नियम अनुसार विद्यार्थीहरुले तिन किस्तामा रकम बुझाउनु पर्छ । सूचना गर्दा समेत अटेर गरी ७ महिनासम्म शुल्क बुझाएका छैनन । प्रशासनले बाध्य भएर अध्ययन रोक्नु परेको हो ।’

नेपाल संस्कृत विश्वविद्यालयबाट अनुमति लिई काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्वर ३ मा स्थापना भएको उक्त कलेजमा विएएमएस अध्ययन हुने गरेका छ । पहिलो वर्ष १६ जना भर्ना भएका विद्यार्थीहरु अहिले चौथो वर्षमा अध्ययनरत छन् । उनिहरुले कलेजलाई बुझाउनु पर्ने १५ लाख रुपैया मध्ये ६ लाख १९ हजार २ सय ७५ रुपैया प्रति ब्यक्ति बुझाउन बाँकी छ । अध्ययन गर्दा लाग्ने कुल शुल्क तीन किस्तामा चार साढे ५ वर्ष भित्र बुझाउनु पर्छ ।

साढे ४ वर्षको अध्ययन र एक वर्षको प्रयोगात्मक अध्ययन पछि पुर्ण रुपमा कोर्ष सकिन्छ । बनेपाको शिर मेमोरियल अस्पतालमा ६ महिने प्रयोगात्मक परिक्षाका लागि कलेजले अस्पतालसँग सम्झौता गरेको छ । चौथो वर्षका १६ जना विद्यार्थीहरुको ६ महिना पछि अन्तिम परिक्षा हुँदै छ । अध्ययन नियमित नभएकाले विद्यार्थीहरु भविश्यप्रति चिन्तित रहेको विद्यार्थी रुपेश ठाकुरले बताउनु भयो । तेश्रो वर्षमा ४० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

सोहि वर्षमा अध्ययनरत विद्यार्थीहरुको ५ लाख ७६ हजार रुपैया बुझाउन बाँकी छ । दोश्रो वर्षमा अध्ययनरत २१ जना विद्यार्थीहरुले रकम बुझाएको नियमित परिक्षा भईरहेको छ । पहिलो वर्षमा भर्ना भएका ३४ जना विद्यार्थीहरुले किस्ता बापतको ४ लाख ७५ हजार बुझाउन बाँकी रहेको क्याम्पसले जानकारी दिएको छ । क्याम्पसमा भर्ना भएका १ सय ११ जना विद्यार्थीहरुको भविश्यका बारेमा शुल्कको विवाद उठाएर कलेजले राजनीति गरेको विद्यार्थीहरुको आरोप छ । नयाँ विद्यार्थी भर्नाका लागि संस्कृत विश्वविद्यालयले कोटा दिएको छैन ।

कलेजमा शिक्षक १३ र कर्मचारी १६ गरी २९ जना कार्यरत छन् । विद्यार्थीहरुले शुल्क नबुझाए पनि शिक्षक कर्मचारीको तलब साउन महिनाको बाहेक भुक्तानी गर्न बाँकी छैन । ‘हामीले कलेजलाई सिस्टममा चलाउँ, विद्यार्थीहरुको भविश्य पैसासँग भन्दा अध्ययनलाई हेरौ भन्यौ कलेजले सुन्नै चाहेन’–विद्यार्थी समुहका अगुवा रुपेश ठाकुरले भन्नुभयो–‘उल्टै प्रहरी लगाएर पक्राउ गरी कुटपिट गरियो ।  कलेजले हाम्रो माग सुनेन र दमन ग-यो भने त्यसको प्रतिरोध गर्न तयार छौं ।’ प्रशासनले भने विद्यार्थीले शुल्क नबुझाउँदासम्म अध्ययन सूचारु नगर्ने अडान लिएको छ । कलेजले संचालन गरेको आफ्नै मेडिकल पनि लकडाउनका कारण बन्द गरेको छ ।