सक्कली बाघ ‘आक्कल झुक्कल’, नक्कली बाघको प्रतिमा

9.7k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

दैनिकजसो बाघ ओहोर दोहोर गर्ने बनेपा नगरपालिका वडा नम्वर २ र ४ को सिमाना ‘बाघखोर’ ढुँडामुखमा स्थानीय युवाहरुले नक्कली बाघ सहितको पार्क निर्माण गरेका छन् । पुर्खाहरुले बाघले हरेक दिन स्थानीयलाई सताउन थाले पछि खोर बनाएर थुनेको उक्त स्थानमा युवाहरुले ‘लभ प्वाईन्ट’ अर्थात प्रेम पार्क बनाएका हुन् ।

‘बाक्लो जंगल भएकाले आजकाल पनि सोहि स्थानमा बाघ ओहोरदोहोर गरिरहन्छ’–वडा सदस्य ज्योती बोगटिले भन्नुभयो–‘सक्कली बाघ ओहोर दोहोर गर्ने स्थानमा युवाहरुले नक्कली बाघको प्रतिमा राखेर जंगलको खाली स्थानलाई सदुपयोग गरेका छन् । यसले स्थानीय तथा बाह्य पर्यटकहरुका लागि आर्कषक गराएको छ ।’ ‘करिव साढे ३ लाख रुपैया खर्च भई सकेको छ, अझै सहयोग संकलन हुने र खर्च हुने क्रम जारी छ’– युथ आईज क्लवका अध्यक्ष एवं आकाश देवी सामुदायिक पार्कका संयोजक सन्तोष गौतमले भन्नुभयो–‘१ हजार ५ सय रुपैया संकलन गरी शुरु भएको सरसफाई अभियानले पार्क निर्माणको गति लियो ।’

पर्यटकिय क्षेत्र नगरकोट जान सहज र छोटो दुरीको सडक भएकाले विश्राम लिने, सडकमा हिडिरहने नागरिकहरुले ड्राई फुड खाएर फाल्ने तथा फुर्सदमा आउने ब्यक्तिहरुले खाएका जंकफुड तथा पानीका बोतलहरु थुप्रिएर फोहोरको डंगुर हुन थालेपछि वडा नम्वर २ का युवाहरुले क्लवको संयोजनमा सरसफार्य अभियान चलाएको स्थानीय नवराज घिमिरेले बताउनु भयो ।

त्यहि अभियान पार्क निर्माण गर्ने र वडा नम्वर २ र वडा नम्वर ४ को सिमानामा रहेको जंगलको संरक्षणसँगै आन्तरिक र बाह्य पर्यटकहरुका लागि घुम्न आउने आर्कषक पार्क निर्माण गर्ने योजना सहित सहयोगिहरुसँग रकम संकलन गरी पूर्वाधार निर्माणमा जुटेको अध्यक्ष सन्तोष गौतमले बताउनु भयो ।

आकाशदेवी सामुदायिक वन क्षेत्रमा झण्डै १ हजार ६ सय रोपनी जमिन छ । परापुर्वकालदेखि उक्त स्थानमा आकाशदेवी माईको पुजा गर्ने गरिएको छ । जंगलकै बीचमा रहेको आकाशदेवी मन्दिर सरसफाई गरी युवाहरुले पहिलो पटक राष्ट्रिय झण्डा फहराए । लगत्तै २०७२ सालको भुकम्पको बेला नेपाली सेनाले निर्माण गरिदिएको प्रतिक्षालय भत्किएकाले पुर्ननिर्माणको प्रयास गरे । रकम अभावले सहयोग संकलन शुरु गरे सँगै प्रतिक्षालयको निर्माण सकियो ।

सडकबाट अग्लाईमा रहेको उक्त स्थानलाई बस्न योग्य बनाउने उदेश्यले फलामका साना साना बेञ्चहरु, खेर गएका टायरलाई रगिंन बनाउँदै प्राकृतिक संरचना नविग्रने गरी पार्क निर्माण कार्य अघि बढ्यो । दाताहरुले उक्त स्थानको पहिचानका लागि बाघको प्रतिमा उपलब्ध गराए । ‘बाघखोर’ को पहिचान नमेटाउने गरी बाघको प्रतिमा राखिएको सामुदायिक वन उपभोक्ता समितिका सचिव केदार गौतमले बताउनु भयो ।

बन कार्ययोजनामा नभए पनि खाली रहेको जमिनमा बृक्षारोपण सहित बन संरक्षण गर्ने उदेश्यले पार्क निर्माणका लागि सैद्धान्तिक सहमति दिएको उहाँले बताउनु भयो । झण्डै २० रोपनी जमिनमा पार्क निर्माण गरिएको छ । पार्कको वरपर बनभोज स्थल, राजधानी तथा अन्य क्षेत्रको दृश्यालोकवन गर्न सकिने गरी भ्यु टाओर, राष्ट्रिय जनावार तथा अन्य क्षेत्रका प्रतिमाहरु, बगैचा र आवश्यक पूर्वाधारहरु निर्माण गर्ने योजना क्लवले बनाएको छ । पार्कको दिगो ब्यवस्थापन र स्थायीत्वका लागि कोष खडा गरी नियमित संरक्षण तथा सरसफाई गरिने अध्यक्ष सन्तोष गौतमले बताउनु भयो ।

नाला क्षेत्रको पर्यटकिय स्थल बनाउन, लोपोन्मुख विरुवाहरुको बृक्षारोपण गरी आर्कषक स्थान निर्माण गर्न स्थानीय, प्रदेश र संघ सरकारको सहयोग आवश्यक रहेको स्थानीय युवाहरुले बताएका छन् । पूर्वाधार निर्माणका लागि स्थानीयहरुले श्रमदान समेत गरेका छन् ।