एमाले विभाजन गर्ने षडयन्त्रका साथ अध्यादेश ल्याइँदैछ : ओली

252
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजित गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । सरकारले पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर एमालेलाई विभाजित गर्ने षडयन्त्र गरिरहेको ओलीले आरोप लगाएका हुन् ।

‘केही समययता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भइरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र गरिँदैछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरू विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’