लोपोन्मुख सुरेल जातिको संग्रहालय निर्माण


चिरञ्जीवी मास्के, दोलखा ।

विश्वमै सबैभन्दा थोरै जनसंख्या भएको लोपोन्मुख सुरेल जातिको उद्गम थलो दोलखा गौरीशङ्कर गाउँपालिका–५ सुरीमा सुरेल संग्रहालय निर्माण गरिएको छ । दुईकोठे भवनसहितको उक्त संग्राहलयमा सुरेल जातिसँग सम्बन्धित सबै कुरा रहने छन् ।

सुरेल संग्रहालयका लागि गौरीशङ्कर गाउँपालिकाले आवश्यक जग्गा र २० लाख रुपियाँ दिएको छ । अहिलेसम्म ४७ लाख रुपियाँ खर्च भएको सुरेल संग्रहालयका लागि वागमती प्रदेश सरकारले २५ लाख र जनजाति महासंघले २ लाख उपलब्ध गराएको सुरेल जाति उत्थान समाजका अध्यक्ष सुवास सुरेलले बताउनुभयो । जनजाति महासंघले दिएको २ लाख संग्रहालयको गेट निर्माणमा खर्च भएको र अन्य रकम संग्रहालय निर्माणमा खर्च भएको उहाँले बताउनुभयो ।

गौरीशङ्कर गाउँपालिकाको सुरी उद्गम थलो रहेको सुरेल जातिको बारेमा प्राप्त पछिल्लो तथ्यांकअनुसार उनीहरुको जनसंख्या जम्मा २ सय २९ रहेको छ । जसमा १ सय १२ जना पुरुष र १ सय १७ जना महिला रहेका छन् । यस जातिमा १२ कक्षा पास गर्ने पुरुष तीन र महिला तीन गरी ६ जना तथा एसईई पास गर्ने ३० जना रहेको सुवास सुरेलले बताउनुभयो ।

सुरेल जाति कसरी रहन गयो भन्ने तथ्यगत प्रमाण नभए पनि एउटा किम्वदन्ति भने प्रचलनमा रहेको छ । किम्वदन्तिअनुसार ससुरा र ज्वाइँ बासे (ससुरा) र वीरबल (ज्वाई) भोटबाट शिकार खेल्दै सुरी आसपास आइपुगे । सोही समय एक जना माझीको बच्चा एक शेर्पाले अपहरण गरेर लगेका थिए । बासे र वीरबलले शेर्पाबाट उक्त बच्चालाई मुक्त गरी माझीको जिम्मा लगाइदिए ।

ससुरा–ज्वाइँको उक्त कार्यबाट खुसी भएका माझीहरुले ती दुईलाई सूर्यवंशी भन्दै तेरमुफ (टिम्मुर बारी) दिएर बस्ने व्यवस्था गरे । उनीहरु माझीहरुसँगै बसेकै बेला कोठामा थुनेर राखेको एउटा माझीको छोरी गर्भवती भइन् । उक्त गर्भ सूर्यवंशीबाटै रहन गएको माझीहरुले आरोप लगाए । यसरी माझी र सूर्यवंशीको गर्भबाट भएको सन्तान सुरेल भए ।

भोटबाट ससुरा–ज्वाइँ बासे र वीरबल कहिले आए भन्ने तथ्यगत प्रमाण नभए पनि जङ्गबहादुर राणाको शासन कालमै सुरेलको नाममा लालमोहर लागेको कागजात रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष सुवास सुरेल बताउनुहुन्छ । यस तथ्यबाट सुनुवार र सुरेल एउटै होइन भन्ने पुष्टि हुने सुरेल समुदायको भनाइ छ ।

लोपोन्मुख सुरेल जातिको भाषा, संस्कृति, भेषभुषा, उनीहरुले प्रयोग गर्ने सामग्री आदिको संरक्षण र थप अध्ययनका लागि सुरेल संग्रहालय आवश्यक ठानेर गाउँपालिकाको पहलमा सुरेल जाति उत्थान समाजमार्फत सुरेल संग्राहलय निर्माण गरिएको गौरीशङ्कर गाउँपालिकाका प्रमुख स्वयंबहादुर खड्काले बताउनुभयो । दुईतले सुरेल संग्रहालयको पहिलो तलमा तीन कोठा रहेको र ती कोठाहरुमा सुरेलहरुको परम्परागत घर, घरमा राखिने जाँतो, ढिकी जस्ता कुराहरु हुने सुरेल जाति उत्थान समाजले जनाएको छ ।

त्यसै गरी, उक्त संग्राहलयमा सुरेल जातिले प्रयोग गर्ने पोशाक, सुरेलको बारेमा लेखिएका पुस्तकहरु, भाषासम्बन्धी पुस्तक, सुरेल जातिको जन्म, मृत्यु र अन्य विभिन्न समयमा प्रयोग हुने सामग्री रहने सुरेल जाति उत्थान समाजका अध्यक्ष सुवास सुरेलको भनाइ छ ।

संग्राहलय निर्माणको उद्देश्य लोपोन्मुख सुरेल जातिको संरक्षणसँगै सुरल जातिका बारेमा अध्ययन अनुसन्धान गर्न चाहने अध्यता तथा धार्मिक एवं सांस्कृतिक पर्यटकलाई समेत आकर्षित गर्न पनि सुरेल संग्रहालयको निर्माण भएको समाजका अध्यक्ष सुरेल बताउनुहुन्छ ।

सुरेल संग्रहालयको थप व्यवस्थापन तथा सुरेल जातिसँग सम्बन्धित कुराहरु संग्रहित गर्नका लागि गाउँपालिकाले अभिभावकीय भूमिकामा रहेर थप सहयोग गर्दै जाने गाउँपालिका प्रमुख खड्का बताउनुहुन्छ ।