सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च


विद्यानन्द राम, राजविराज ।

सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च पुगेको छ । आइतबार रातिदेखि बढेको पानीको बहाव सोमबार बिहान गरिएको मापनअनुसार २ लाख ५२ हजार ८ सय ४० प्रतिसेकेन्ड क्युसेक पुगेको थियो ।

अझैं पानीको बहाव बढ्दो नै रहेको कोशी ब्यारेज प्रशासनले जनाएको छ । पानीको बहाव बढिरहेकाले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३३ वटा ढोका खुला राखिएको छ । पानीको बहाव बढिरहे आवश्यकताअनुसार थप ढोका खुला गरिने ब्यारेज प्रशासनको भनाइ छ । कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती बालिएको छ भने सप्तरी प्रशासनले तटबन्ध आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सतकर्ता अपनाउन आग्रह गरेको छ ।

कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्युसेक छ । पछिल्लो २१ वर्षयताको तथ्यांक हेर्दा सप्तकोसीमा ४ लाख क्युसेकभन्दा माथि पानी बढेको छैन । सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा ७ लाख ८८ हजार २ सय क्युसेक पुगेको थियो भने सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक पुगेको ब्यारेज प्रशासनको रेकर्ड छ ।

कोशी ब्यारेज बन्दा शुरुआतका वर्षमा कोसी नदीले झण्डै ८ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घट्दै गएको पाइन्छ । पछिल्लो समय कोशी ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ ।

२०६५ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यति बेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका ४ वटा मानवबस्तीमा पानी पसेर ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए ।