भुक्तानी नपाएपछि वडा कार्यालयमा तालबन्दी


विनोदसिंह विष्ट, बैतडी ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेको पैसा नपाएको भन्दै बैतडीको पाटन नगरपालिका–९ को वडा कार्यालयमा कामदारहरुले सोमबार तालाबन्दी गरेका छन् । नगरपालिकाबाट भुक्तानी भएको रकमसमेत आफूहरुलाई नदिएको भन्दै मजदुरहरुले तालाबन्दी गरेको हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काम गरेको पैसा नपाएपछि आफूहरुले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय कर्णबहादुर विष्टले बताउनुभयो । काम गर्ने बेला काम गराइएको भए पनि अहिले भुक्तानी भइसकेको रकमसमेत दिन आनाकानी गरिएको उनीहरुको गुनासो छ । वडा नं ९ मा प्रधानमन्त्री रोजगारअन्तर्गत चारवटा योजना सञ्चालन भएका र ती योजनाका लागि ७६ जना सूचीकृत भएका थिए । पछि वडा कार्यालयकै रहोवरमा २ सय ९५ जनालाई रोजगारी दिइएको कार्यवाहक वडाध्यक्ष इन्द्रबहादुर बोहराले बताउनुभयो । नगरपालिकाबाटै ४ लाख ७२ हजार कम भुक्तानी भएकाले रकम वितरणमा समस्या भएको वडा कार्यालयले जनाएको छ ।

तर, कामदारहरुले भने तोकिएको ज्याला पाउनुपर्ने र भुक्तानी भएको रकम वितरण हुनुपर्ने माग गर्दै तालाबन्दी गरेको जनाएका छन् । पाटन नगरपालिकाका विभिन्न वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अनियमितता भएपछि रोजगार शाखामा कार्यरत प्राविधिकको करार सेवासमेत रद्ध गरिएको थियो ।

यता, नगरपालिकाका रोजगार संयोजक महेश पन्तले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गरेको कामको पुनर्मूल्यांकनका लागि जिल्ला समन्वय समितिले प्राविधिक पठाउने भनेको भए पनि अहिलेसम्म नपठाएको बताउनुभयो ।