आठ घण्टापछि फेला परे दुर्गाप्रसाद, सुधार गृहमा राख्ने वातावरण बनाइदिन परिवारको आग्रह

8.3k
Shares

गणेश घिमिरे, साउन ।

बेपत्ता भएको आठ घण्टापछि इलाम माई नगरपालिका–१० लुम्बकका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना फेला पर्नुभएको छ । आइतबार साँझ करिब ५ बजे बेपत्ता हुनुभएका उहाँ इलाम नगरपालिका–१० स्थित गोदकको जौबारीमा आइतबार मध्यराति १२ बजेतिर फेला पर्नुभएको हो ।

बिनासुनुवाइ भारतीय जेलमा ४० वर्ष बिताएर घर फर्काइएका उहाँ घरबाट करिब ४ घण्टाको पैदल दूरीमा रहेको जौबारीमा फेला पर्नुभएको परिवारजनले बताएको छ । मध्यरातमा प्रहरीले उहाँलाई फेला पारेको थियो । उहाँलाई प्रहरीले सोमबार घर–परिवारको जिम्मा लगाएको छ । दुर्गाप्रसाद अरू दिन पनि साँझ ४÷५ बजेतिर घरबाट निस्किएर केही बेरमा घर फर्कनुहुन्थ्यो । तर, आइतबार साँझ घरबाट हिँडेपछि उहाँ ७ बजेसम्म पनि घरमा नफर्किएपछि परिवार चिन्तित बनेको थियो । अबेरसम्म घर नफर्किएपछि दूर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले स्थानीय प्रहरी चौकीसहित जनप्रतिनिधि, सञ्चारकर्मीलाई राति नै फोन गरेर जानकारी गराउनुभएको थियो । भारतीय जेलबाट छुट्ने बेला चिकित्सकले दुर्गाप्रसादको मानसिक अवस्था ९ वर्ष ९ महिनाको बालकको झैं भएको बताएका थिए । घर आएपछि पनि उहाँको व्यवहार असामान्य रहेको पारिवारले बताएको छ । केही महिनायता दुर्गाप्रसादको पारिवारिक सामाजिकीकरणमा समेत समस्या भइरहेको छ ।

लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिकरूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भइरहेको परिवारजनको भनाइ छ । दुर्गाप्रसादको बोलीचाली र व्यवहार शुरुमा सहज भए पनि अहिले दिनदिनै जटिल बनिरहेको भतिजा गोपाल बताउनुहुन्छ । दुर्गाप्रसाद घर आएपछि उहाँलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा १६ दिन उपचार गरी घर ल्याइएको थियो ।

दुर्गाप्रसाद २० वर्षको छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङको चिया बगानमा एक मजदुरको हत्या अभियोगमा सन् १९८१ मा पक्राउ पर्नुभएका उहाँ बिनासुनुवाइ ४० वर्ष भारतीय जेलजीवन बस्न बाध्य हुनुपरेको थियो ।

दुर्गाप्रसादलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता सेन्ट्रल जेल पुर्‍याइएको थियो । उहाँलाई गत फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिनुभएको थियो । विभिन्न संघ–संस्थाको पहलमा उहाँलाई गत चैत ८ मा लुम्बाकस्थित घर ल्याइएको थियो ।

शारीरिक अवस्थामा सुधार हुँदै गए पनि मानसिक अवस्था उहाँको बिग्रिएको परिवारजनले बताएको छ । चिकित्सकले विस्तारै मानसिक अवस्था ठीक हुन्छ भने पनि त्यसो हुन सकेको छैन । ‘झारपात, ढुंगामाटोलगायत जे पायो तेही खाइदिने, जतापायो तेतै दिसापिसाब गर्दिने गर्न थाल्नुभएको छ’, गोपाल भन्नुहुन्छ– ‘सम्झाउन खोज्दा परिवारका सदस्यमाथि नै आक्रमण गर्न खोज्न थाल्नुभएकाले अहिले आफूहरुको ज्यान पनि जोखिममा परेको छ ।’

ठूलोबुबाको मानसिक स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रँदै गएपछि आफूहरुलाई धेरै तनाव भइरहेकाले स्थानीय सरकारसँग आफूहरुले उहाँलाई सुधार गृहमा राखिदिने वातावरण बनाइदिन आग्रह गरिरहेको उहाँले बताउनुभयो ।