संक्रमित महिलाभन्दा पुरुष बढी

252
Shares

काठमाडौं, (नेस) ।

नेपालमा कोभिड–१९ विरुद्ध पूर्ण मात्रामा खोप लगाउनेको संख्या ३५ लाख पुगेको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या भने ४७ लाखभन्दा बढी रहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ५८ हजार ३ सय ३५ जनालाई खोप लगाइएको छ ।

अहिले नेपालमा सक्रिया संक्रमितको संख्या ३९ हजार ३ सय ७१ रहेको छ । जसमध्ये ७ सय ९५ सघन उपचार कक्षमा रहेका छन् भने १ सय ९७ सक्रमित भेन्टिलेटरमा रहेका छन् । सक्रिय संक्रमितमध्ये ३६ हजार ३६ जना होम आइसोलेसनमा र ३ हजार ३ सय ३५ संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या १० हजार ३ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ६ सय ११ नमुना परीक्षण गर्दा ३ हजार ४ सय ५१ नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा ३७ लाख ६७ हजार ६ सय ६५ जनाको पीसीआर र ४ लाख १ हजार ३ सय ७१ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ३४ लाख ९० हजार ६५ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् । मन्त्रालयको तथ्यांकअनुसार ४७ लाख १६ हजार ९ सय ३६ जनालाई पहिलो मात्राको खोप लगाइएको छ ।

संक्रमितहरु महिलाभन्दा पुरुष बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार संक्रमितमध्ये ६० प्रतिशत पुरुष छन् भने ४० प्रतिशत महिला छन् । नेपालमा कोरोना संक्रमितको मृत्यु दर १ दशमलव ४१ प्रतिशत रहेको छ ।