वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियारकाे छापा

294
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज स्थित नारायणी अस्पतालको फार्मेसीमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर सिल गरेको छ । हेटौडा स्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णु प्रसाद सापकोटाको नेतृत्वमा आएको ५ सदस्यिय टोलीले अस्पतालाको फार्मेसीमा छापा मारेर सिल गरेको हो ।

नारायणी अस्पतालको सरकारी फार्मेसीमा १ करोड २१ लाख रुपैयाको अनियमितता भएको समाचार एक हप्ता पहिले समाचार प्रकाशित भएको थियो । त्यहि समाचारको आधारमा सोमबार मध्यान्ह १२ बजे तिर अस्पतालमा छिरेको अख्तियारको टोलीले अस्पतालको फार्मेसीमा छापा मारेर सिल पनि गरेको हो ।

छापा मार्ने क्रममा झण्डै ४ घण्टा सम्म अस्पतालमा बिताएको अख्तियारको टोलीले फार्मेसीको कारोबारसंग सम्बन्धित सबै कागजपत्रहरु नियन्त्रणमा लिएर जानुका साथै फार्मेसीको स्टोर कक्षमा सिल पनि गरेको हो । शुरुमा अस्पतालको लेखा शाखामा छिरेको अख्तियारको टोलीले त्यहा लेखापाल सुदीप माझीलाइ भेटेर फार्मेसीको कारोबारसंग सम्बन्धित कागजातहरु मागेको थियो ।

त्यसपछि टोली , फार्मेसीका इन्चार्ज हरेन्द्र यादवलाइसंगै लिएर फार्मेसीको बिक्री र स्टोर कक्षमा छिरेको थियो । अख्तियारको टोलीले फार्मेसीले सन्चालन भए यता अहिले सम्म औषधीको खरिद ,बिक्री , सप्लायर्सलाइ तिरेको भुक्तानी , सप्लायर्सलाइ तिर्न रहेको बाँकी रहेको भुक्तानीको बील बिजक र भौचर ,स्टोरमा हाल मौज्दात औषधी विवरणको कागजात नियन्त्रणमा लिएर गएको हो ।

आज अस्पतालको फार्मेसीमा छापा मारेर फार्मेसीको कारोबारसंग सम्बन्धित सबै कागजातहरु छानबनि गरि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र फार्मेसीको स्टोर कक्षमा सिल पनि गरिएको अख्तियार टोली प्रमुख सोपकोटाले बताउनुभयो ।

अख्तियार टोलीले छापा मार्ने क्रममा बिरामीलाइ वितरण गर्न राखिएका सद्दे औषधीसंगै ठूलो परिमाणमा म्याद गुज्रिएका औषधीहरु पनि राखेको भेटिएपछि फार्मेसीको स्टोर कक्षमा सिल गरेको हो । टोली प्रमुख सापकोटाले पनि फार्मेसीको स्टोर रुममा म्याद गुज्रिएका औषधीहरु ठूलो परिमाणमा लामो समय देखि भण्डारण गरि राखेको भेटिएकोले फार्मेसीको स्टोर कक्षमा सिल गरिएको बताउनुभयो ।