संसदका दुवै सदनको अधिवेशन अन्त्य

210
Shares

काठमाडौं ।

सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर बैठकलाई जानकारी गराउनुभयो ।

यही साउन ३ गते प्रारम्भ भएको अधिवेशनमा २९ दिन चल्यो । हालसम्म १० बैठकमा २० घण्टा १५ मिनेट संसदीय काम भयो । त्यसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी सुपरिवेक्षण गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक पदार्थ नियमन गर्ने अध्यादेश, २०७८ र कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ लगायत प्रस्तुत भए ।

प्रतिनिधिसभाको चालू अविधेशनमा कुनै पनि नयाँ विधेयक सदनमा दर्ता भएनन् । यही साउन ३ गते दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभएको थियो ।