प्रदेशको प्राथमिकतामा शिक्षा


अमृत अर्याल, स्याङ्जा ।

कोरोनाका कारण वैकल्पिक माध्यमबाट पठनपाठनलाई जोड दिँदै सातवटै प्रदेश सरकारले शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेका छन् । गण्डकी प्रदेशले पठनपाठनलाई वैकल्पिक सिकाइका माध्यमबाट निरन्तरता दिन १ करोड भन्दा बढी रकम छुट्टाएको छ । दूरशिक्षाका माध्यमबाट अध्ययन/अध्यापन थालिने बजेट वक्तव्यमा उल्लेख छ । स्थानीयसहित तीनै तहका सरकारले वैकल्पिक शिक्षामा जोड दिँदै जाँदा शिक्षाविद्हरुले भने यसलाई सधैंका लागि मूलधारको शिक्षा पद्धतिसँग जोड्दै जानुपर्ने धारणा राखेका छन् ।

केन्द्रदेखि स्थानीय तहसम्म वैकल्पिक कक्षाका लागि करोडौं बजेट खर्च हुँदै छ । संघले स्थानीय तहमा २० करोड बजेट निकासा गरेको छ । केन्द्रमा पनि श्रव्यदृश्य सामग्री उत्पादन गर्न करोडौं खर्च गरिँदै छ । संघीय सरकारले गत असार १ गते देशभर वैकल्पिक सिकाइ अभियान सुरु गरेको छ । गुणस्तरीय शिक्षण सामग्री उत्पादनमा पनि ध्यान दिनुपर्ने सरोकारवालाको सुझाव छ ।

यसैक्रममा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय र आत्मनिर्भर शिक्षा आफनो प्राथमिकतामा रहेको बताउनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालय भवनको शिलन्यास गर्दे मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

बालबालिकालाई मन्टेश्वरी कक्षादेखि नै सामुदायिक बिद्यालयमा पढ्ने बतावरण बनाउने गरी गण्डकी प्रदेशले शिक्षा निती बनाएको उहाले जानकारी दिनुभयो । आफु रहुन्जेल शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाको भनाई छ । शिक्षामा राज्यको लगानी धेरै भए पनि अपेक्षाकृत उपलब्धी हुन नसकेको बताउदै मन्त्री श्रेष्ठले बालबालिकालाई बिद्यालयमा टिकाउने र सिकाउनेसम्मका ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।

स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्दे सामुदायिक बिद्यालयले गुणस्तरीय शिक्षा दिनु पर्ने उहाको भनाई छ । गुणस्तरीय शिक्षा बिना मुलुकको विकास संभव नभएको जनाउदै बर्तमान शैक्षिक प्रणालीमा परिवर्तन गर्दे गुणस्तरीय शिक्षाका लागि आफु तयार रहेको मन्त्री श्रेष्ठको भनाई छ ।

कार्यक्रममा गण्डकी प्रदेश सचेतक भागवतप्रकाश मल्ल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार शेरचन, सदस्य शान्तिदेवी गौतम, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, शिक्षक शिवप्रसाद ढकाल लगायतले बिद्यालयका गुणस्तरीयताका बारेमा सुझाव सहित आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । नमूना बिद्यालय कार्यक्रम अन्र्तगतको करिब १ करोड ४४ लाखको लागतमा निर्माण हुने भवन १४ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । भवन निर्माणको जिम्मेवारी सीता बिल्डर्सले पाएको बिद्यालयले जनाएको छ ।