भन्सारबाट इन्धनको आयात बढ्यो

168
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट भने दुईपटक लकडाउन र निषेधाज्ञा भए पनि इन्धन आयात भने बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट हवाइ इन्धन र एलपी ग्यासबाहेक सबैखाले इन्धनको आयात बढेको हो । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार गत आवमा हाइस्पिड डिजेल १६ प्रतिशत, पेट्रोल ६ प्रतिशत र मट्टीतेल आयात १० प्रतिशतले बढेको छ । हवाइ इन्धन ५१ प्रतिशत र एलपी ग्यासको आयात ३ प्रतिशतले घटेको छ। डिजेलको ठूलो हिस्सा पेट्रोलियम पाइप लाइनबाट आयात हुने गरेको छ ।

गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै ६४ अर्ब ६० करोड ५४ लाख ६७ हजार रुपियाँ बराबरको ११ लाख ८९ हजार ७ सय ७३ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ। जसबाट ४० अर्ब ५८ करोड ७ लाख ५७ हजार रुपियाँ राजस्व संकलन भएको छ। अघिल्लो आवमा ५८ अर्ब २३ करोड ४ लाख ८३ हजार रुपियाँ बराबरको १० लाख २३ हजार ५ सय ९४ किलोलिटर हाइस्पिड डिजेल आयात भएको थियो । जसबाट २२ अर्ब ७८ करोड २५ लाख ३८ हजार रुपियाँ राजस्व संकलन भएको थियो ।

त्यसैगरी, सोही अवधिमा १७ अर्ब ८४ करोड २६ लाख २५ हजार रुपियाँ बराबरको ३ लाख २८ हजार ९ सय ५२ किलोलिटर पेट्रोल यो नाकाबाट आयात भएको छ । जसबाट १६ अर्ब ८९ करोड ४ लाख ६ हजार रुपियाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा यो नाका हुँदै १७ अर्ब २४ करोड १३ लाख ९९ हजार रुपियाँ बराबरको ३ लाख ११ हजार १ सय ३७ किलोलिटर पेट्रोल आयात हुँदा ११ अर्ब ५९ करोड ७७ लाख ९६ हजार रुपियाँ राजस्व संकलन भएको थियो ।

गत आवमा यो नाका हुँदै ६० करोड ५ लाख २ हजार रुपियाँबराबरको १२ हजार २ सय किलोलिटर मट्टीतेल आयात भएको छ। जसबाट १४ करोड ६४ लाख ६६ हजार रुपियाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा यो नाका हुँदै ६८ करोड ६९ लाख २६ हजार रुपियाँ बराबरको ११ हजार १ सय २४ किलोलिटर मट्टीतेल आयात भएको थियो । जसबाट ३० करोड ६ लाख ९१ हजार रुपियाँ राजस्व संकलन भएको थियो।उक्त अवधिमा १९ अर्ब ८१ करोड २८ लाख २७ हजार रुपियाँ बराबरको २५ करोड ९२ लाख १६ हजार ७ सय ३५ किलो एलपी ग्यास आयात हुँदा ३ अर्ब ६९ करोड ५७ लाख ४२ हजार रुपियाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा १८ अर्ब ३९ करोड २० लाख १९ हजार रुपियाँ बराबरको आयात भएको थियो ।

हवाई इन्धनको आयात आधाले घटेको छ । गत आवमा यो नाका हुँदै २ अर्ब ९८ करोड ५० लाख २८ हजार रुपियाँ बराबरको ६० हजार २ सय ८ किलोलिटर हवाई इन्धन आयात भएको छ । जसबाट ३ करोड १६ लाख ७८ हजार रुपियाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा यो नाका हुँदै ७ अर्ब ७७ करोड ४० लाख ९१ हजार रुपियाँ बराबरको १ लाख २२ हजार ५ सय ३६ किलोलिटर हवाई इन्धन आयात भएको थियो । जसबाट ८३ करोड २४ लाख ९२ हजार रुपियाँ राजस्व संकलन भएको थियो । यसरी गत आवमा यो नाका हुँदै एक खर्ब रुपियाँ बढीको इन्धन मात्र आयात भएको छ । समग्रमा गत आर्थिक वर्षमा वीरगन्ज भन्सार कार्यालयले संकलन गरेको कुल राजस्वमा इन्धनको योगदान ३९ दशमलव ३८ प्रतिशत छ । त्यसपछि सवारीसाधन र अन्य वस्तुको राजस्वमा योगदान छ । वीरगन्ज नाका इन्धन भित्रिने मुलुककै मुख्य नाका हो । वीरगन्ज भन्सारका सूचना अधिकारी सुमित गुप्ताले लकडाउनमा हवाई सेवा ठप्प प्रायः रहेकाले हवाई इन्धनको आयात घटेको बताउनुभयो ।