मेलम्ची क्षेत्र अझै जोखिममा, जुनसुकै समयमा फेरि बाढी आउन सक्छ

280
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

मेलम्ची नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण नआउँदै विज्ञहरूले उक्त क्षेत्रमा फेरि पनि बाढीपहिरो जान सक्ने औंल्याएका छन् । भेमाथाङमा जम्मा भएको डेब्रिज र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उनीहरूले यस्तो बताएका हुन् ।

मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत् स्थानमा बस्न नसकिने निष्कर्ष निकालेको हो । विभागले गत साउन २२ गतेबाट अध्ययन शुरू गरी बाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययनपछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जियोलोजिस्ट शिव बास्कोटाले बताउनुभयो । नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले भेमाथाङभन्दा माथिबाट आएको गेग्रानहरू भेमाथाङ चौरमा जम्मा भएर बसेकाले त्यो जुनसुकै समयमा बग्ने अवस्थामा रहेको बताउनुभयो ।

‘भेमाथाङभन्दा माथि मेलम्ची र पेम्दाङ दुई नदी जोडिएको स्थामा बाढीले पुरिएर चौर नै भरिएको थियो जहाँ १० मिटरसम्म पुरिएको देखिन्छ,’ भूगर्भविद् बास्कोटाले भन्नुभयो– ‘मेलम्ची नदीबाट कुनै पनि गेग्रान आएको देखिँदैन । तर भेमाथाङमा जम्मा भएको गेग्रान पेम्दाङबाट आएको देखिन्छ । पेम्दाङ नदीको आसापासको क्षेत्रमा पहिरोहरू धेरै गएको देखिन्छ ।’ उहाँले त्यसभन्दा माथि अझै पहिरोहरू बगिरहेकाले जोखिम उत्तिकै रहेको बताउनुभयो । उहाँले मेलम्ची नदीमाथि पनि पहिरोको सम्भावनाहरू बढिरहेकोले जोखिम बढी रहेको बताउँदै भन्नुभयो– ‘मनसुन अवधिभर जुनसुकै समयमा फेरि बाढी आउन सक्छ ।’

भेमाथाङसँगै त्यसभन्दा तलको मेलम्ची खानेपानी आयोजनाको इन्टेक रहेको अम्बाथानमा १५ मिटर पुरिएको बाँस्कोटाको भनाइ थियो । उहाँका अनुसार भेमाथाङ चौरमा जम्मा भएको गेग्रान मात्रै १५ लाख ट्रकभन्दा बढी रहेको छ । त्यसलाई व्यवस्थापन गर्न कुनै उपाय नभएकाले त्यो जुनसुकै समयमा बगेर आउने सक्छ । पेम्दाङमा पहिरो जाने क्रममा रोकिने अवस्थामा नरहेकाले जोखिम बढी नै रहेको छ ।

भेमाथाङमा जम्मा भएको गेग्रान र त्यभन्दा माथिको पहिरोहरू अस्थिर रहेकाले तल्लो तटीय क्षेत्रमा अझै बाढी पहिरोको जोखिम भएकाले सुरक्षित हुन आवश्यक रहेको हिमतालहरूको अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का इन्जिनियर अरूणभक्त श्रेष्ठले पनि जोखिम बढी नै रहेको बताउनुभयो । ‘ताउते र यास सामुद्रिक आँधीका कारण मेलम्ची जलाधार क्षेत्रमा हिउँ पारेको थियो । त्यो सबै पग्लिएपछि बाढीपहिरो गएको देखिन्छ’, उहाँले भन्नुभयो– ‘८ हजार ८ सय ७० क्युबिक मिटरको ताल रहेकोमा अहिले त्यो ताल देखिँदैन । ७० हजार वर्ग मिटर क्षेत्रमा परेको हिउँ उष्णीकरणका कारण पग्लिएको पाइएको छ । यसलाई जलवायु परिवर्तनको असरका रूपमा पनि लिन सकिन्छ ।’

यसैगरी, मेलम्ची गाउँमा भूकम्पका कारण ठूलो पहिरो बनाएको देखिन्छ । त्यो पहिरो बगेर मेलम्ची नदी थुनिएको र त्यही पहिरोले ड्याम बनाउँदा ठूलो मात्रामा नदीमा बाढी गएको देखिन्छ । चार सय मिटरको पहिरो बग्दा नदीमा ठूलो प्रवाह भई मेलम्ची बजार क्षेत्रमा ठूलो क्षति पुगेको देखिन्छ । जोखिम उत्तिकै भएकाले त्यस आसपासका मानिस बढी जोखिममा रहेका छन् ।

काठमाडौं विश्वविद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा. रिजनभक्त कायस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले मेलम्ची जलाधार क्षेत्रमा रहेको सानाठूला सबै नदीहरूमा जुनसुकै समयमा बाढी आउन सक्ने भएकाले पूर्वसतर्कता अपनाउनु आवश्यक भएको बताउनुभयो ।

यसैगरी, काठमाडौं विश्वविद्यालयकी एसोसियट प्रोफेसर डा. रेश्मा श्रेष्ठले जोखिम न्यूनीकरणका उपायहरू अपनाउनुपर्ने बताउनुभयो । उहाँले जोखिम न्यूनीकरणका लागि सबै निकायले विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

यस्तै, सिनियर भूगर्भविद् विशालनाथ उप्रेतीले जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । ‘हरेक ४–५ वर्गकिलोमिटरमा पूर्वसूचना प्रणाली जडान गरेमा क्षति न्यूनीकरण गर्न सकिन्छ’, उहाँले भन्नुभयो– ‘हाइड्रोपावरहरूले आफ्नो आयोजना क्षेत्रमा अनिवार्य पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने व्यवस्था गर्न सके राम्रो हुनेछ ।’

विशेषज्ञहरूले गरेका अध्ययनहरूलाई आममानिसमा सूचना प्रभाह गर्नका लागि सञ्चारकर्मीले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।