केश खाने आदतबाट झन्डै ज्यान गएको !



लन्डन, (एजेन्सी) ।

सधैँ दिसा कब्जियत हुने र वान्ता हुने समस्या लिएर डाक्टरकहाँ पुगेकी एक ३८ वर्षीया महिलाको पेटबाट १५ सेमी चौडा र १० सेमी लामो मानव केशको डल्लो फेला परेको छ । नाम नखुलाइएकी ती महिलाको यो समस्या र शल्यक्रियाबाट गरिएको समस्या समाधान बायो मेडिकल जर्नल (बीएमजी) मा प्रकाशित गरिएको हो । यो समस्या चिकित्सिकीय भाषाको ‘रापुन्जेल सिन्ड्रोम’सँग जोडिएको छ ।

ती महिला घरिघरि हातले आफ्नै केश तान्दै त्यसलाई चपाएर खाने एक प्रकारको दुव्र्यसनी जस्तो रोग ट्रिकोटिल्लामेनियाबाट पीडित भएको हुनुपर्ने बताइएको छ । यस सिन्ड्रोमलाई ग्रिम ब्रदर्सको परीको कथाका लामो केशधारी महिला पात्र रापुन्जेलको नाम दिइएको हो । उनको आन्द्रामा अड्किएको अर्को चार सेमि चौडा र तीन सेमि लम्बाइको केशको डल्लो पनि निकालिएको छ ।

ती महिलाको पेटमा अड्किएको केशको डल्लोको पुच्छर आन्द्राहरूसम्म फैलिएको बताइएको छ ।

रापुन्जेल सिन्ड्रोमबाट मलद्वारसँग जोडिएको आन्द्रामा अवरोध आउने, फुट्ने, आन्द्राबाट रक्तश्राव हुने, वजन घट्ने, जन्डिस हुने, प्याक्रियाटाइसिस र एपेन्डाइसाइटिस जस्ता समस्या निम्ताउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्