स्वाधीनता दिवसमा मोदीद्वारा स्वास्थ्यकर्मी र वैज्ञानिकको प्रशंसा


नयाँदिल्ली, (एजेन्सी) ।

भारतको ७५औं स्वाधीनता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गर्ने स्वास्थ्य स्याहार कार्यकर्ता र वैज्ञानिकहरूको प्रशंसा गरेका छन् । साथै, उनले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तिनीहरूलाई गुमाउनुको पीडा सदैव जिउँदै रहने बताएका छन् । मोदीले मुलुकले भाइरसविरुद्ध असाधारण गतिमा संघर्ष गरेको स्मरण गरेका छन् ।

तर, गत अप्रिल र मे महिनामा भारतका थुप्रै शहरमा कोभिड–१९ को दोश्रो चरणको महामारीमा रोग नियन्त्रण तथा रोकथामका लागि राम्ररी काम नगरेको भन्दै मोदी सरकारको व्यापक आलोचना पनि भएको थियो ।

दोश्रो चरणको यस महामारीमा करोडौं भारतीय जनता संक्रमित हुनुका साथै स्वास्थ्य स्याहार प्रणाली नाजुक अवस्थामा पुगेको थियो ।

छोटो समयमा अक्सिजन र अस्पतालमा स्थान अभावका कारण धेरै संख्यामा संक्रमितको ज्यान गएकाले दाहसंस्कारका लागि मसानघाटको समेत अभाव हुन पुगेको थियो । त्यतिबेला दैनिक चार लाखसम्म संक्रमित संख्या देखिने गरेकोमा अहिले आएर सो संख्या ३० देखि ४० हजारमा सीमित हुन पुगेको छ । भारतमा अब तेश्रो चरणको महामारी आउन सक्ने सन्त्रास कायमै छ ।

आइतबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक लाल किल्लाबाट स्वाधीनता दिवसको क्रममा भाषण दिने क्रममा प्रधानमन्त्री मोदीले अहिलेसम्ममा कम्तिमा ५० करोडभन्दा बढी जनताले खोपको पहिलो डोज लगाउन पाएको भन्दै भारतको खोप कार्यक्रमको प्रशंसा गरेका छन् । भारतमा १२ प्रतिशत जनताले पूर्णरूपमा खोप लगाइसकेको सरकारी तथ्यांकले देखाएको छ ।