माओवादीको राष्ट्रिय सम्मेलन पुस ११–१३ गतेसम्म, प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष



नेपाल समाचारपत्र, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टीले सांगठनिक संरचना परिमार्जन गर्दै जिल्ला कमिटी खारेज गर्दै जिल्ला समन्वय समिति मात्र राख्ने निर्णय गरेको हो ।

आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा बैठकमा प्रस्तुत राजनीतिक र विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले विधान संशोधन र समसामयिक प्रतिवेदन पनि पास गरेको बताउँदै अध्यक्षको प्रतिवेदनमा खास गरी आजको राजनीतिक कार्यभार र पार्टीको सांगठनिक अवस्थाबारे निर्दिष्ट गरेको बताउनुभयो । ‘प्रतिगामी खतरा कायमै रहेको र सजग भएर अघि बढ्नुपर्ने, राष्ट्रिय एकताका लागि वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिन आवश्यक छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै श्रेष्ठले भन्नुभयो ।

बैठकले आगामी पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार बैठकले महाकाली नदीमा तुइन काटेर नेपाली युवाको मृत्यु भएको दुई हप्ता भइसकेको बताउँदै यसबारे भारतसँग वार्ता गर्न र क्षतिपूर्तिका लागि पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको बताउनुभयो ।

बेलायतमा गोर्खा सैनिकहरूले गरिरहेको आमरण अनशनमा ऐक्यबद्धता जनाउने निर्णय गर्दै माओवादीले बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्न सरकारसँग माग गरेको छ । कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रबन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग सरकारसँग गर्दै बैैठकले पार्टी पंक्तिलाई स्वास्थ्य मापदण्ड अपनाउँदै महामारीविरुद्ध जुध्न र देशका लागि योगदान गर्न आह्वान गरेको छ ।

बाढी, पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गराउदै माओवादीले अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गरेको छ ।

यसैबीच माओवादीले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरू विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ । अब संविधान र संघीयताको मर्मअनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने निर्णय बैठकले गरेको छ । जिल्ला कमिटीको साटो जिल्ला समन्वन कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरूलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने भएको छ ।

आगामी भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने, असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गर्ने, असोज २० गते वडा सम्मेलन गर्ने, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन गर्ने, मङ्सिर १५ गते प्रदेश सम्मेलन गर्ने र पुस ११ देखि १३ सम्म पार्टी राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले जनवर्गीय एवं विभिन्न जातिय/क्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू असोज मसान्तासम्म सम्पन्न गर्ने, जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिने पनि निर्णय गरेको छ । बैठकले केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सहसचिव र कोषाध्यक्ष रहने निर्णय गरेको छ ।

‘अबको चुनावमा एक नम्बर हुन्छौं’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीलाई सांगठानिक रूपमा मजबुत बनाउन सकेको अवस्थामा आगामी चुनावमा एक नम्बरको हुने दाबी गर्नुभएको छ ।

आइतबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले जनयुद्धकालमा जोखिम उठाएको हुनाले अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग रहेको बतउनुभएको हो । अहिले पनि नेपालको क्रान्तिको नेतृत्व गर्ने तागत यही नेतृत्वको टीमसँग नै छ,’ अगामी चुनावमा हामी एक नम्बर हुन्छौं । हेर्नुहोला, पहिला पनि त्यति पत्याउँदैनथे, हामी एक नम्बर भयौं, प्रचण्डले भन्नुयभो ।’ उहाँले अन्य पार्टीजस्तो होइनांै भनेर एकपटक पुनः सिद्ध गर्ने चुनौती आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्