‘लोकसेवाको परीक्षामा रोक नलगाऊ’

336
Shares

काठमाडौं, (नेस) ।

सर्वोच्च अदालतले मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भए पनि लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले लोकसेवा आयोगबाट सञ्चालन गरिन लागिएको कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको हो ।

हाल देशमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको उल्लेख गर्दै केदारकुमार अधिकारीसमेतले लोकसेवा आयोगबाट लिइने सम्पूर्ण परीक्षा स्थगित गर्न आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्चले कोरोना भाइरसको संक्रमण बढ्ने घट्ने अनिश्चितता भएको अवस्थामा आयोगबाट सञ्चालन हुने परीक्षा रोक्नको लागि अन्तरिम आदेश जारी गर्न नमिल्ने उल्लेख गरेको छ ।

आयोगबाट बहसका लागि उपस्थित हुनुभएका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले आयोगले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबै प्रकारका सुरक्षा मापदण्ड अपनाई परीक्षा सञ्चालन भइरहेको उल्लेख गर्नुभएको थियो ।

आयोगबाट उपस्थित हुनुभएको सहसचिव लोकबहादुर अधिकारीले परीक्षाका लागि उपत्यकाबाहिरबाट आउने परीक्षार्थीलाई आवगमनमा अवरोध नहोस् भनेर आयोगले आवश्यक व्यवस्था मिलाइसकेको पनि इजलाससमक्ष बताउनुभएको थियो । रिट निवेदकहरूले कतिपय जिल्लामा लकडाउन कायम रहेकाले इच्छुक परीक्षार्थी काठमाडौं आउन नसक्ने उल्लेख गरेका थिए । यसका लागि सम्बन्धित निकायसँग आयोगले समन्वय गरेको पनि दाबी गरिएको थियो ।

हाल लोकसेवा आयोगले उल्लेख्य संंख्यामा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्नुपर्ने आवश्यक भएको पनि इजलाससमक्ष आयोगका सहसचिव अधिकारीले बताउनुभएको थियो ।