बडमका १२ गाउँमा वर्षौंदेखि खानेपानीको हाहाकार

112
Shares

राम धामी, डडेल्धुरा ।

डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–२ बडम गाउँमा वर्षात्को समयमा पनि खानेपानीको हाहाकार मच्चिएको छ ।

बडम क्षेत्रका १२ गाउँमा वर्षौंदेखि खानेपानीको हाहाकार मच्चिएको हो । वर्षात्को यो समयमा गाउँभन्दा तल रहेका कुवाबाट स्थानीयले खानेपानीको जोहो गरे पनि गर्मीयाममा भने पानीको चरम अभाव भोग्ने गरेका छन् । बडमगाउँका १२ वटा बस्तीमा करिब आठ सय घरधुरी छन् । १२ वटा बस्तीमध्ये अहिले कुनै पनि बस्तीमा खानेपानीको उचित प्रबन्ध हुन सकेको छैन ।

२०५१ साल र त्यसपछि बनेका खानेपानी योजनाहरू मर्मत सम्भारको अभावमा जीर्ण बन्दा बडम गाउँमा पानीको चरम अभाव चुलिएको हो । १५ देखि ३० मिनेटको पैदल दूरीमा रहेका कुवाबाट उकोलो बाटोमा पिठ्युँमा पानीका ग्यालेन बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता बडम गाउँबासीको छ ।

गर्मीयाममा नौलाको पानी सुक्ने भएकाले गाउँभन्दा एक घण्टाको पैदल दूरीमा रहेको रडुवा खोलाबाट पानीको जोहो गर्नुपर्ने बाध्यता बडम गाउँबासीको रहेको स्थानीय पार्वतीदेवी अवस्थीले बताउनुभयो । रातीको १२ बजेसम्म र बिहान ३ बजेदेखि नै खानेपानी भर्न कुवामा बस्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिनुभयो ।

२०५१ सालमा पहिलोपटक खानेपानी योजना लागू भई गाउँमा खानेपानी पुगे पनि दुई वर्ष यता धारामा पानी नआएको स्थानीय जग्वा भुलले बताउनुभयो । त्यसपछि २०६९ साल यता गाउँमा आठवटा धारा बने पनि धारामा पानी नआएको उहाँ बताउनुहुन्छ । योजनामा रकम मात्रै आउने तर धारामा पानी नआउँदा पानीको हाहाकार भएको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा काम सम्पन्न गर्ने लक्ष्यका साथ बकाल र बडम गाउँलाई समेटेर बृहत् खानेपानी योजना लागू गरिएको भए पनि ठेकेदारको ढिलासुस्तीका कारण योजना सम्पन्न भएको छैन । १ करोड ९० लाख लागतमा संघीय सरकारको समपूरक बजेटमा बृृहत् खानेपानी योजना लागू गरिएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कवीन्द्र विष्टले बताउनुभयो ।

कोरोना महामारी र वर्षात्का कारण योजना समयमै सम्पन्न नभएको उहाँले जानकारी दिनुभयो । ठेकेदारलाई कडाइका साथ चाँडै योजना निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिइसकेको र केही दिनभित्रै योजना सम्पन्न हुने उहाँको भनाइ छ । खानेपानीको चरम अभाव झेलिरहेका बडम गाउँका बासिन्दाले पटकपटक योजना माग गरे पनि सुनवाइ नभएको स्थानीय अगुवा रामचन्द्र अवस्थीले बताउनुभयो ।