अफगानिस्तानबाट नेपालीको उद्धारका लागि पहल शुरु

686
Shares

सरस्वती कर्माचार्य, काठमाडौं ।

तालिवान विद्रोहीहरूले अफगानिस्तानको राजधानी काबुलमा समेत कब्जा जमाएपछि राष्ट्रपति असरफ घानीले अफगानिस्तान छाडिसकेका छन् । आफगानिस्तानको गृह मन्त्रालयका एक बरिष्ठ अधिकारीले राष्ट्रपति घानी ताजिकिस्तानतर्फ प्रस्थान गर्नुभएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यो समाचार तयार पार्दासम्म तालिवान विद्रोही र अफ्गान सरकारी अधिकारीबीच काबुलमा सत्ता हस्तान्तरणको बारेमा वार्ता चलिरहेको छ ।

यसैबीच सरकारले संकटग्रस्ट अफगानिस्तानबाट नेपालीहरूको उद्धारका लागि पहल शुरु गरेको छ । सरकारले परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको छ । कार्यदलमा गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागको प्रतिनिधिहरु सम्मिलित छन् ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई कन्सुलर सेवा विभागको वेबसाइट http://nepalconsular.gov.np मा व्यवस्था गरिएको अनलाईन रजिष्ट्रेशन पोर्टलमा दर्ता गर्न आह्वान गरेको छ । साथै मन्त्रालयले कन्सुलर सेवा विभागको मोबाइल नम्बर ००९७७–९७४९३२६४५८ र परराष्ट्र मन्त्रालयको मोबाइल नम्बर ००९७७–९७४९३२६४५९ मा भाइबर वा ह्वाट्सएपबाट सम्पर्क राखि आफ्नो अवस्थाको बारेमा जानकारी दिन समेत अफ्गानिस्तानमा रहेका नेपालीलाई अनुरोध गरेको छ ।

राजधानी काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा कार्यरत आफ्ना नागरिकको उद्धार गरी उनीहरूलाई सुरक्षित रुपमा नेपाल फर्काउन मन्त्रालयले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेले संघ, जापान तथा संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्राचार गरिसकेको जनाएको छ ।

यसैबीच नयाँ दिल्लीस्थित नेपाली दूताबासले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम र अवस्थाका बारेमा ट्राभल एडभाइजरी जारी गरेको छ भने उद्धारका लागि दूताबासमा सम्पर्क राख्न अनुरोध पनि गरेको छ । मन्त्रालयले अफगानिस्तानमा बैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूसँग त्यहाँ कार्यरत नेपालीहरूको विवरण उपलब्ध गराउन निर्देशन समेत दिएको छ । श्रम मन्त्रालयका अनुसार हाल अफगानिस्तानमा १४ हजारभन्दा बढी नेपाली कार्यरत छन् ।

यसअघि आइतबार नै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न सरकारलाई निर्देशन दिएको थियो । अफगानिस्तानमा संकट चुलिरहेको वर्तमान समयमा आफ्नो नागरिकको सुरक्षाका लागि सरकारले छिमेकी र मित्र राष्ट्रहरुको सहयोग लिनुपर्नेमा जोड दिँदै कुटनीतिज्ञहरूले दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतमा सदस्य राष्ट्र अफगानिस्तानको शान्ति सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

कुटनीतिज्ञ डा. शम्भुराम सिंखडाले आफ्नो नागरिकको सुरक्षा सरकारको पहिलो दायित्व भएको जिकिर गर्दै आफ्ना नागरिकको सुरक्षाका साथसाथै सार्कको अध्यक्ष राष्ट्रको नाताले अफगानिस्तान र त्यहाँको जनताको शान्ति सुरक्षाका लागि सरकारले सार्कका सबै सदस्य राष्ट्रहरुसँग छलफल अघि बढाउन सुझाव दिनुभएको छ ।