सत्र वर्षपछि मूल फुट्दा गाउँमा खुसियाली



युवराज श्रेष्ठ, रामेछाप ।

सत्र वर्षमा आफूले सदियौंदेखि उपभोग गर्दै आएको पुराना धारा र कुवामा मूल फुटेपछि रामेछापका विभिन्न गाउँमा खुसियाली छाएको छ । खडेरीका कारण पूर्णरूपमा सुकेका पुराना पानीका धारा तथा कुवामा अत्यधिक वर्षाद्सँगै पानीको मूल फुटेपछि गाउँलेहरुमा खुसियाली छाएको हो ।

हिमगंगा, देउराली, ओख्रेनी, साँघुटारका पँधेराहरुमा पनि मूल फुटेको छ भने मन्थली नगरपालिकाको भलुुवाजोर, ल्याङ्गल्याङ्ग, हुलाकडाँडा, भीरपानी गाउँका खोला खोल्साहरुमा पनि मूल फुटेको छ । गाउँमा रहेका पानीको धारा र कुवाहरुमा मूल फुटेपछि बाँझिएका पाखो जमिन र खेतमा पनि कृषकहरु रोपाइँ गर्न तरखरमा लागेको खाडाँदेवी गाउँपालिका पकरबासको सुकराम घिसिङले जानकारी दिनुभयो ।

लामो खडेरीका कारण काकाकुल बनेका विशेष गरी जिल्लाका रामेछाप नगरपालिका, मन्थली नगरपालिका खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाका सबैजसो वडामा खानेपानीको हाहाकार थियो । जसका कारण कतिपय गाउँलेहरु खानेपानीकै लागि बसाइँसमेत सरिसकेका थिए । तर, यसपटक भने मूल फुटेको खुसियालीमा गाउँलेहरु उत्साहित मात्र भएका छैनन्, अधिकांश ठाउँमा बाँझै रहेका खेतहरुमा पनि गाउँलेले रोपाइँ गर्ने तयारी गरिरहेका छन् ।

ती बस्तीहरुमा पानीको अभाव भएपछि सरकारले जिल्लाका दर्जनौं स्थानलाई सुख्खाग्रस्त गाउँ घोषणा गरी ती ठाउँहरुमा नदीको पानीलाई लिफ्ट सिस्टमबाट तानेर दीर्घकालीनरूपमा खानेपानीको व्यवस्था गर्दै आएको थियो । लामो समयको अन्तरालमा यस वर्ष पानिको मूल फुटेपछि गाउँलेहरुमा खुसियाली छाएको रामेछाप नगरपालिका–४ का वडा अध्यक्ष टुपेन्द्र तामाङले बताउनुभयो ।

२०६१ सालपछि वर्षाद् नहुँदा गाउँका प्रयाःजसो सबै खानेपानीका मुहान सुकेको भए पनि १७ बर्षको अन्तरालमा आफ्नो गाउँ र आसपासको बस्तीहरुका धारा र पँधेरामा मूल फुटेको रामेछाप नगरपालिका–८ बाबियाखर्कका उज्ज्वल घिमिरेले बताउनुभयो । खडेरीले पुराना खानेपानीका मुहान सुकेसँगै खानेपानीको अभावमा कतिपय बस्तीहरुसमेत बसाइँ सरिसकेको अवस्थामा धारा–पँधेरामा मूल फुटदा बालकदेखि वृद्धासम्ममा खुसियाली छाएको पनि उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्