अमेरिकी र बेलायती फौज अफगानिस्तान पुग्दै


काबुल, (एजेन्सी) ।

कुटनीतिक कर्मचारी र अन्यलाई सुरक्षित ढंगले अफगानिस्तानबाट बाहिर निकाल्नका लागि अमेरिकी सेनाको पहिलो टोली अफगानिस्तान आइपुग्दै छ । तालिवान लडाकुहरूले आक्रमणलाई तीव्रता दिन थालेपछि विश्वका अन्य थुप्रै मुलुकले पनि आफ्ना कर्मचारी र नागरिकलाई त्यहाँबाट शकुसल स्वदेश फर्काउन हतारिएका छन् । सप्ताहान्तसम्ममा तीन हजार संख्यामा अमेरिकी फौज आफ्ना कुटनीतिज्ञ र अन्यलाई उद्धार गर्न अफगानिस्तान पुगिसकेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

लडाकुहरूले शुक्रबार राजधानी काबुलबाट मात्र ८० किलो मिटर टाढाको लाघार प्रान्तको राजधानी पुल–ए – आलम कब्जा गरेका थिए । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानको अनियन्त्रित परिस्थितिको भयावह मार सर्वसाधारणमा परिरहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

अहिलेसम्म २ लाख ५० हजार अफगानी जनता आफ्ना घरबार छाड्न बाध्य भएका छन् । २० वर्षभन्दा लामो सैनिक अभियानपछि अमेरिका र अन्य मुलकका फौज स्वदेश फर्केयता तालिवान लडाकुहरू निकै आक्रामक बन्न थालेका हुन् ।

२००१ म विदेश फौजको नेतृत्वमा तालिवान सरकारलाई अपदस्थ गरिएको थियो । ९० को दशकमा अर्थात् तालिवान युगमा महिलाहरूले अनिवार्यरूपमा बुर्का लगाउनै पथ्र्यो, १० वर्ष उमेरमाथिका बालिकाहरूले पढ्न पाउँदैन थिए र सार्वजनिकस्थलमा निर्मम यातनासहितको सजाय दिइन्थ्यो ।

शुक्रबार नै तालिवानले लाश्कर गाह शहरनजिकको मुलुककौ दोश्रो सबैभन्दा ठूलो शहर कान्दहार र पश्चिमको हेरात शहर कब्जा गरेको थियो । अहिलेसम्म अफगानिस्तानको एकतिहाइ प्रान्तीय राजधानी तिनीहरूको नियन्त्रणमा गइसकेका छन् । त्यसैगरी, बेलायतले पनि उद्धार अभियानका लागि आफ्ना ६ सय फौज पठाउन लागेको छ ।

यसैबीच, नर्वे र डेनमार्कले अफगानिस्तानस्थित आफ्ना दूतावास बन्द गर्दै छन् । शनिबार ट्विटरमार्फत क्यानाडाका प्रधानमन्त्री ट्रुडोले भनेका छन्– ‘अफगानिस्तानको अवस्था खराब हुँदैछ । त्यहाँका नागरिकको जीवन खतरामा रहेको छ । तिनीहरूको सहयोगका लागि हामीले हाम्रो पुनर्बसोवास कार्यक्रम विस्तार गर्दैछौँ । हामी २० हजार द्वन्द्व प्रभावित अफगानीलाई शरण दिनेछौँ ।’

क्यानडाका आप्रवासी मामिलामन्त्री मार्को मेन्डिसिनो महिला नेता, मानवअधिकार कार्यकर्ता, पत्रकार, अल्पसंख्यक समुदाय, एलजीबीटीक्यूआई र अनुवादकका रूपमा कार्यरत अफगानी आफूहरूको योजनाको प्राथमिकतामा रहेका जानकारी दिएका छन् ।