काँग्रेसको आन्तरिक विवाद टुङ्गियो, मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय

1k
Shares

रामकृष्ण चापागाईं, काठमाडौं ।

सत्ताधारी दल नेपाली काँग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याएको छ । तीन दिनदेखि बसेको काग्रेस केन्द्रिय समिति बैठकले महाधिवेशनको नयाँ मकार्यतालिका सार्वजनीक गरे संगै पार्टी भित्रको आन्तरिक विवाद टुङ्गिएको छ ।

क्रियाशील सदस्यता सम्बन्धी विवाद बढेको कारण भदौ १६–१९ सम्म महाधिवेशन गर्ने गरि तयार गरिएको कार्यतालिका प्रभावित भएपछि महाधिवेशनको नया कार्यतालिका बारे छलफल गर्न विहिवार देखि शनिवार सम्म लगातार तीन दिन बैठक बसेको थियो । नयाँ कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु गरि मंसिर १३ गते महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।

नया कार्यतालिका अनुसा भदौ १८ गते वडा अधिवेशन गरिनेछ भने भदौ २७ गते गाउ÷नगरपालिकाको अधिवेशन गरिनेछ । नयाँ कार्यतालिका अनुसार प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १ गते गरिने भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने छ । नयाँ कार्यतालिका अनुसार काग्रेसको जिल्ला अधिवेशन असोज १० गते गरिने छ । प्रदेश अधिवेशन कात्तिक १०–१२ सम्म गरिनेछ । केन्द्रिय अधिवेशन मंसिर ९–१३ सम्म राजधानिमा हुनेछ ।

यस अघि श्रावणे १२ गते वडा, गाउँपालिका र नगरपालिका श्रावण १६ गते, प्रदेश क्षेत्रीय अधिवेशन श्रावण २० गते, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २६ गते र प्रदेश अधिवेशन भदौं १ र २ गते गर्ने र भदौ १६–१९ मा केन्द्रिय महाधिवेशन गर्ने भनिएको थियो ।

बैठकमा क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गर्नुभएको क्रियाशिल सदस्यता सम्बन्धि प्रतिवेदन र महामन्त्री पुर्णवहादुर खड्काले प्रस्तुत गर्नुभएको निर्वाचन निर्देशिका सम्बन्धि प्रतिवेदनमाथि पनि छलफल भएको थियो । बैठकले क्रियाशिल सदस्यता सम्बन्धि विवाद मिलाउन नेताहरु कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. मिनेन्द्र रिजाललाई जिम्मेवारी दिएको छ ।

क्रियाशिल सदस्यता सम्बन्धि विवाद समाधान अन्तिम नामावली भदौ २ गते सम्म नामावली वुझाउनु पर्नेछ । निर्वाचन निर्देशिकालाई पनि थप छलफल गरि अन्तिमरुप दिन सहमहामन्त्री डा. डा. प्रकाशसरण महत र डा. मिनेन्द्र रिजाललाई जिम्मेवारी दिईएको छ । निर्वाचन निर्देशिका तयार पार्नलाई पनि भदौं २ गते सम्मको समयसिमा तोकिएको छ ।

यस अघि क्रियाशिल सदस्यता छानविन समितिले अन्तिम नामावली तयार पार्दा १४औं महाधिवेशनको लागि विदेश स्थित जनसम्पर्क समितिहरुबाट आउन बाकी बाहेक ८ लाख ५२ हजार ७ सय ११ जना क्रियाशिल सदस्य कायम गरेको थियो । जसमा करिब ४ प्रतिशत क्रियाशिल सदस्यता बारे विवाद थियो ।

क्रियाशिल सदस्यहरु नै महाधिवेशनको प्रारम्भिक मतदाता भएकोले क्रियाशिल सदस्यताको विवाद बढी पेचिलो भएको हो । काग्रेस भित्र वडा र पालिकाको पादाधिकारी तथा क्षेत्रिय प्रतिनिधिहरु क्रियाशिल सदस्यहरुले निर्वाचित गर्छन । क्षेत्रिय प्रतिनिधिले जिल्ला र महाधिवेशन तथा महासमिति सदस्य निर्वाचित गर्छन । महाधिवेशन प्रतिनिधिले केन्द्रिय समिति निर्वाचित गर्छन ।

केन्द्रिय बैठकमा समायोजन र क्रियाशिल सदस्यता वितरण विधिपुर्वक नभएको भन्दै आ–आफ्नो धारणा राखेका थिए । खासगरि संस्थापन पक्ष क्रियाशिल सदस्यताबारे अब विवाद गर्नु पर्ने अवस्था नभएको बताइरहेका थिए । क्रियाशिल सदस्यता विवाद समाधान गर्ने सहमति भए संगै नया महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनीक भएको हो । पुर्व निर्धारित कार्यतालिका प्रभावित भएपछि काग्रेसको वैधानिकता माथि प्रश्न उठाउदै नेतृत्वलाई छिटो भन्दा छिटो महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउन पार्टीभित्र चौतर्फि दबाब थियो ।