करोडौंको खानेपानी आयोजनाको संरचना भत्कियो, टिकाउमा गम्भीर प्रश्न



रामधन राई, खोटाङ । 

खोटाङमा भारी बर्षासँगै करोडौंको खानेपानी आयोजनाको संरचना भत्किएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र) को कम्पाउण्ड पर्खाल भत्किएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको निगालेस्थित ट्रिटमेन्ट प्लान्टको पुर्वतर्फको कम्पाउण्ड पर्खाल ढलेको छ । ट्रिटमेन्ट प्लान्टको कम्पाउण्डको मेसिनरी वालको करिब ४०–५० मिटर भाग भत्किएको हो । गत वर्ष नै चर्किएको कम्पाउण्डको पर्खाल यस पल्टको वर्षामा भत्किएको स्थानीय धनीराम राई नछुङको भनाई छ । निर्माण कम्पनीको लापारबाहीका कारण उक्त संरचना भत्किएको राईको दावी छ । निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालिले कमजोर जगबाट मेसिनरी वाल हालेकाले पहिरो गएको स्थानीय बताउँछन् ।

अग्लो कम्पाउण्डको मेसिनरी वाल भत्किँदा सुरक्षा गार्ड बस्ने घरको पेटीसम्म पहिरो झरेको छ । गत वर्ष चर्किएको केही भागमा भने ग्याविन वाल हालेर टेवा दिइएको थियो ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाइ आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार लागतमा पुरा गर्नेगरी आयोजनाको काम थालिएको हो । १८ महिनाभित्र दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ साल चैत १४ गतेदेखि योजनाको काम सुरु गरिएको हो । आयोजनाको म्याद नाघेको १० महिना बित्दा करिब ९० प्रतिशत मात्र काम सम्पन्न भएको कन्सल्टेन्ट इन्जिनियर रामबिक्रम दाहालले जनाउनुभयो । जिल्लाकै ठुलो खानेपानी आयोजना निर्माण पुरा नहुदै संरचना भत्किनुले आयोजना टिकाउमै गम्भिर प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्