पोखरा औद्योगिक क्षेत्रमा खोप अभियान



न्युज अफ नेपाल, कास्की ।

गण्डकी प्रदेशको एक मात्र पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदुरहरुलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । औद्योगिक क्षेत्र भित्र खोप केन्द्र स्थापना गरी खोप लगाउन थालिएको हो ।

औद्योगिक क्षेत्रमा रहेको खोप केन्द्रको निरीक्षणमा पुगेका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पोखरा औद्योगिक क्षेत्रको वस्तुस्थितीको बारेमा समेत जानकारी लिएका छन् ।

औद्योगिक क्षेत्र रहेका व्यवसायी र मजदुरलाई क्रमशः सबैलाई खोप लगाउने बताउँदै मन्त्री शर्माले व्यवसाय आमजीवनसँग जोडिने विषय भएकाले प्राथमिकतामा राखिएको बताउनु भयो । त्यसै गरी कानुन मन्त्री थापाले औद्योगिक क्षेत्रले आपत्तको समयमा अति आवश्यक खाद्य तथा अक्सीजन जस्ता सामाग्री उत्पादन गरेकोमा धन्यवाद ज्ञापन गर्दै उद्योगी व्यवसायीहरुको पिर मर्का बुझ्नो काम राज्यले बताउनु भयो ।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले खोप अभियान सुरुवात भएकोमा खुसी व्यक्त गर्दै उद्योग क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले चाँसो लिनुपर्ने बताउनु भयो । त्यसै गरी पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोर्कण कार्कीले वर्तमान सरकारले विषयगत रुपमा खोपको व्यवस्थापन गरी उद्यमी व्यवसायी र मजदुरहरुको हौसला बढाएकोमा आभार व्यक्त गर्नु भयो ।

कोभिड १९को महामारी चलिरहँदा पनि औद्योगिक क्षेत्रको गतिविधी सुरक्षित तरिकाले सञ्चालन भईरहेको र पूर्व सावधानीको लागि खोप कार्यक्रमले मजदुर तथा व्यवसायी, कर्मचारीहरु उत्साही भएको कायममुकाम क्षेत्र प्रबन्धक भूषण कुमार उपाध्यायको भनाई रहेको थियो ।
करिब तिन हजारको हाराहारीमा उद्यमी व्यवसायी र मजदुरहरु रहेको औद्योगिक क्षेत्रमा आज एक हजार खोप लगाईएको हो ।

प्रतिक्रिया दिनुहोस्