२५६ खरका छानामा जस्तापाता



अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २ सय ५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो । वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷७७ देखि कार्यान्वयनमा आएको यो अभियान अन्तर्गत हालसम्म २ सय ५६ खरका छाना हटाएर जस्तापाता लगाइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

स्वास्थ्यका दृष्टिले जस्तापाता भन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको सम्भावना तथा छाना छाउने दक्ष कामदारको अभावका कारण नगरपालिका तथा सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता लगाइएको नगर प्रमुख खाँणले बताउनुभयो । “कतिपय नागरिक खरको छाना फेरेर जस्तापाता लगाउन सक्ने अवस्थामा पनि हुनुहुन्न”, नगर प्रमुख खाँणले भन्नुभयो, “खरका छाना भएका नागरिकलाई समाजमा हेर्ने दृष्टिकोण पनि फरक हुने गरेकाले उहाँहरुको मागका आधारमा जस्तापाता लगाइदिँदै आएका छौं ।”

छाना विस्थापनका लागि माग भई आएका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी जस्तापाता वितरण गर्ने र वालिङलाई खरका छानारहित बनाउनका लागि बाँकी रहेका घरलाई पनि यसै वर्षमा जस्तापातायुक्त घर बनाउने गरी अगाडि बढिएको नगर प्रमुख खाँणले बताउनुभयो । वालिङ नगरपालिकामा हालसम्म खरको छाना विस्थापनका लागि ४ सय ३१ घरले आवेदन दिएकामध्ये सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २ सय ५४ मध्ये २ सय ४० घरधुरीले मात्रै सम्झौता गरेर निर्माण थालेको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताउनुभयो ।

नगरपालिकामा आवेदन दिएका ४ सय ३१ घरमध्ये १ सय ७५ घर निर्माण हुन बाँकी रहेका छन् । नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ बाट शुरुआत गरेको अभियानमा गत आर्थिक वर्षबाट सुरक्षित नागरिक आवास कार्यक्रममार्फत सहयोग भएको हो । १४ वटा वडा रहेको नगरपालिकाका वडा नं २ मा ३, ३ मा ४८, ४ मा ५२, ५ मा ३९, ६ मा २१, ७ मा ४८, ८ मा २८, ९ मा ६, १० मा १५, ११ मा ९, १२ मा ५६, १३ मा १७ र १४ मा ८९ घरले खरका छाना विस्थापनका लागि नगरपालिकामा आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्