बिजुली पुगेपछि खुशीयाली



विमल विष्ट, डोटी ।

पोल गाढेको वर्षौंपछि जिल्लाको केआइसिंह गाउँपालिका वडा नं १ गणेशकाडा र वडा नं ४ को मगरबस्तीमा राष्ट्रिय प्रसारणको विद्युत् सेवा पुगेको छ । वर्षौंपछि बिजुली पुगेपछि अहिले स्थानीय खुशी भएका छन् । सल्लाको दियालो र टुकीको भरमा उज्यालोको व्यवस्थापन गर्दै आएका स्थानीयले बिजुली बत्ती पाएपछि सरकारलाई धन्यबाद दिन थालेको केआइसिंह गाउँपालिका–१ का वडाअध्यक्ष कृष्णबहादुर बमले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘बत्ती नहुँदा जनतालाई निकै सास्ती हुँदै आएको थियो, ठूलो मेहनेतले बत्ती पुगायौं, नागरिक निकै खुशी भएका छन् ।’ पालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेका गणेशकाडा र मगरबस्तीमा अहिलेसम्म बिजुली बत्ती बिस्तार हुन नसकेका कारण त्यहाँका स्कुले केटाकेटीलाई समेत रातीको समयमा पढ्न निकै गाह्रो हुने गरेको थियो । अब बिजुली बत्ती बिस्तार भएपछि गाउँभरी झिलिमिली हुनुका साथै विद्यार्थीलाई पनि पढ्न सहज भएको केआइसिंह गाउँपालिका–४ गणेशकाडाका स्थानीयबासी तेजबहादुर मगरले बताउनुभयो । उहाँले भन्नुभयो–‘हाम्रा गाउँमा बत्ती थिएन, जिल्ला सदरमुकाम सिलगढीमा राति बलेको बत्ती हेरेर चित्त बुझाउनु पथ्र्यो, ढिलै भए पनि बिजुली आयो, योभन्दा ठूलो खुशी अरु के हुन सक्छ र ।’ उक्त दुई वडामा शनिबार एकै साथ बिजुली बत्ती बालिएको विद्युत् बिस्तारको जिम्मा पाएका निर्माण व्यवसायी तेजबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो– ‘केआइसिंह गाउँपालिकामा विद्युत् बिस्तारका लागि हामीले जिम्मा पाएका थियौं, शनिबारसम्म हामीले आफ्नो काम सक्यौं, अब सबै वडामा राष्ट्रिय प्रसारणको बत्ती पुगेको छ ।’

जिल्लाका नौवटै स्थानीय तहका प्रत्येक वडामा विद्युत् बिस्तार गर्ने रणनीतिअनुसार विद्युत् सेवा बिस्तारको काम तीव्र रुपमा अगाडि बढिरहेको विद्युत् कार्यालय दीपायलका प्रमुख कौशलदेव जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको बोगटान फुड्सिल, जोरायल, सायल, आदर्श, केआइसिंह, पूर्वीचौकी लगायतका गाउँपालिकामा राष्ट्रिय प्रसारणको विद्युत् सेवा नपुगेका कतिपय वडामा अहिले विद्युत् लाइन बिस्तारका लागि काम शुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्