सटही काउन्टर नहुँदा भारतमा नेपाली मुद्राको अवमूल्यन



किरण धामी, दार्चुला ।

भारतसँग सीमा जोडिएको दार्चुला जिल्लामा पैसा सटही काउन्टर नहुँदा दैनिकजसो नेपाली मुद्राको भारतीय बजार धारचुलामा अवमूल्यन भइरहेको छ । यहाँका स्थानीयले दैनिक उपभोग्यका वस्तु खरिद गर्नदेखि लिएर स्वास्थ्य उपचार गराउन सीमावर्ती बजार धारचुला जाँदा नेपाली मुद्राको दैनिक अवमूल्यन भइरहेको पाइन्छ ।

नेपालको तुलनामा भारतमा केही सस्तो र गुणस्तरीय समान पाइने भन्ने मानसिकताको विकास भएका कारण यहाँका स्थानीय किनमेलका लागि वर्षौदेखि सीमावर्ती बजार धारचुला जाने गरेका छन् । सीमामा भारतीय सुरक्षाकर्मीबाट बारम्बार दुव्र्यवहार हुँदै आएको भए पनि सीमामा बसोबास गर्ने नेपाली नागरिक सबैजसो समान किन्न धारचुला जाने गरेका छन् ।

विगतदेखि नै किनमेलका लागि भारतीय बजार धारचुला जाने गरेका यहाँका स्थानीयले सदरमुकाम खलंगामा सटही काउन्टर हुनुपर्ने आवाज उठाएका छन् । ‘दैनिकजसो भारतमा नेपाली मुद्राको अवमूल्यन भइरहेको छ, सरकारले सटही काउन्टर स्थापना गरी स्थानीयलाई सहजता दिलाउँदै नेपाली मुद्रा अवमूल्यन हुनबाट जोगाउनुपर्छ स्थानीय व्यापारी गणेशदत्त बडुले भन्नुभयो ।

दैनिकजसो नेपाली मुद्राको भारतमा अवमूल्यन भइरहेको भए पनि नेपाल सरकारले भने सटही काउन्टर स्थापनामा चासो देखाएको छैन । दैनिक सबैजसो समान किन्न भारतीय बजार धारचुला जाने यहाँका स्थानीयहरू बिहानैदेखि नेपाली बजारका व्यापारीसँग भारु पैसा माग्न आग्रह गरिरहेका हुन्छन् । नेपाली व्यापारीहरूसँग पनि भारु पैसा नहुने हुँदा उनीहरू धारचुलामा नेपाली मुद्रामै सामान किन्न बाध्य छन्, यसरी नेपाली मुद्रा अवमूल्यन भइरहेकै छ ।

नेपाली व्यापारीसँग भारु पैसा भए त दिन्छन् उनीहरूसँग पनि हुँदैनन्, हामीले धारचुला गएर नेपाली १ हजारलाई ६ सय भारुमा चलाउनुपर्छ, स्थानीय महेश भट्टले भन्नुभयो । १ हजार नेपाली पैसालाई ६ सय भारुमा सट्दा ४० रूपैयाँ नेपाली सधैं घाटा भइरहेको हुन्छ उहाँले थप्नुभयो ।

यता राष्ट्रिय वाणिज्य बैंक दार्चुलाका प्रबन्ध निर्देशक राजेन्द्रसिंह धामीका अनुसार तत्काल सटही काउन्टर स्थापना गर्ने नेपाल राष्ट्र बैंकको योजना छैन । देशमा जनयुद्ध हुनुभन्दा पहिले राष्ट्रिय वाणिज्य बंैक दार्चुलाले पैसा सटही गर्ने गरेको उहाँले बताउनुभयो । नेपाली बैंकहरूले जारी गर्ने एटीएम भिजा कार्डबाट अहिले पनि भारतका बंैकहरूमा १० हजारसम्म पैसा झिक्न सकिने उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले सटही काउन्टरका लागि जिल्लाबाट अहिलेसम्म कुनै किसिमको माग नभएको जानकारी गराउनुभयो ।

पछिल्लो समय भारतीय बजारहरूमा नेपाली १ हजार रुपैयाँ भारतीय ५ सय ५९ त कतै ५ सय ८० मा कारोबार भइरहेको स्रोतले बताएको छ । भारतीय बजारहरूमा दैनिकरूपमा यसरी नेपाली मुद्राको अवमूल्यन हुँदा सिमाका नेपाली नागरिकलाई प्रतिहजारमा ४० देखि १ सय नेपाली रुपैयाँसम्म घाटा हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्