सरकारले अधिकतम साझा कार्यक्रम पनि सार्वजनिक गर्नुपर्छ : बिजुक्छे

126
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले अधिकतम साझा कार्यक्रम पनि सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले सरकारले न्युनतम साझा कार्यक्रम ल्याउँदा अधिकतम कार्यक्रम के हो त्यो पनि सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफ्नै उत्पादन नभएपछि देशको अर्थतन्त्र कमजोर हुँदै जानु स्वाभाविक भएको भन्दै मौलिक उत्पादन बढाउँदै जानुपर्नेमा जोड दिनुभयो ।

बिजुक्छेले समाजवाद स्थापना गर्न गाह्रो भए पनि संसदीय व्यवस्थाको ठाउँमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या राष्ट्रपति शासन भए पनि शासकीय सुधारमा मौलिक परिवर्तन नआउने बताउनुभयो ।

दलहरूबीच सिद्घान्तहीन एकताभन्दा फुट धेरै राम्रो हुने र यसो भए दलको आन्तरिक झमेला कम हुने उहाँको भनाइ थियो ।

नेपालमा संसदीय सर्वोच्चताभन्दा न्यायपालिकाको सर्वोच्चता देखिएको बताउँदै उहाँले विदेशी पुँजीको प्रभाव बढ्दै जानाले देशले रानीतिक स्थिरता पाउन नसकेको बताउनुभयो । संसद्बाट गएको भए देउवा सरकारलाई डर नहुने तर गलत बाटोबाट गएको हुनाले सरकार स्वयम्लाई अप्ठ्यारो हुँदै छ, उहाँले भन्नुभयो ।

शासन व्यवस्थामा जानेहरूमा विदेशी पुँजीको प्रभाव बढ्दै जानाले आजको स्थिति आएको भन्दै उहाँले विदेशीले जे भन्छ त्यहीअनुसार गरेको साबित हुँदै गएको उल्लेख गर्नुभयो । साम्राज्यवादीहरू जहाँ गएका छन् त्यहाँ उपद्रो भएको र त्यहाँ फसेको बताउनुभयो ।

पुँजीवादी व्यवस्था नै खराब हो भन्दै त्यसको विकल्प भनेको समाजवाद मात्रै हो र यो सरकारको गठन दक्षिणको ‘फेलियर’ होइन दक्षिणमुखी नै हो भन्नुभयो ।

अदालतमा तेस्रो परेकोलाई प्रधानमन्त्री बनाउनु गैरसंवैधानिक छ भन्दै उहाँले त्यसरी गर्नै परे राष्ट्रपतिले मात्र गर्न सक्ने भन्नुभयो ।
परिणामले परमादेश गलत भनेर मन्त्रिमण्डलको पुनःगठन नभएबाट प्रस्ट हुन्छ ,गलत मान्छेको चयन भएपछि यस्तै हुन्छ उहाँले भन्नुभयो ।

नेपाली राजनीतिमा कोइराला परिवारलाई भारतसँग र प्रधानमन्त्री शेरबहादुर देउवालाई पश्चिमसँग जोड्ने चलन छ भन्दै उहाँले शासक दल सबैमा विदेशी घुसपैठिया रहेको दाबी गर्नुभयो । सत्ताको राजनीति गर्ने पार्टीमा विदेशी प्रभाव बढ्दै जानु दुःखद अवस्था भएको उहाँले दाबी गर्नुभयो ।

समाजमा आमूल परिवर्तनको कुरा गर्नेको बहुमत चाहिन्छ भन्दै पुँजीवादी सरकारमा जाने सबै कम्युनिस्ट दाबी गर्ने पार्टीहरू पतन भएका उदाहरण रहेको बताउनुभयो ।

समाजवाद स्थापना गर्न असम्भव छैन भन्दै एमाले र माओवादी कम्युनिस्ट होइनन् भनेर हामी जनतालाई बुझाउँदै छौं, सबै कुरा एउटा पुस्तामै हुन्छ भन्ने छैन उहाँले भन्नुभयो ।

नेमकिपा एमसीसीको विरोधी रहेको बताउँदै कुनै पनि सचेत तथा सार्वभौमिकता सम्पन्न देशले त्यसमा हस्ताक्षर गर्दैन भन्नुभयो ।

संयुक्त राज्य अमेरिका नयाँ सैनिक गठबन्धनको तयारीमा रहेको भन्दै नाटो, सियाटो बनाएजस्तै अमेरिका एसिया प्रशान्त क्षेत्रको गठबन्धन बनाउन खोज्दै छ नेपाल त्यसमा फस्नु हुँदैन भन्नुभयो ।

एमसीसीमार्फत आउने ५५ अर्ब विदेशीको पैसा माग्नुपर्दैन भन्दै भ्रष्टाचार त्योभन्दा बढी भएको बताउनुभयो ।