कमलविनायक–नगरकोट बाटो तत्काल निर्माण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र



भक्तपुर (नेस) ।

युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले कमलविनायकदेखि नगरकोट जाने बाटो तत्काल मर्मत गरी जनजीवन सहजीकरण गराउन प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

उक्त सडक विगत सात वर्षदेखि अलपत्र भई जनजीवनमा प्रत्यक्ष असर पारेको हुँदा उक्त बाटो निर्माणका लागि भक्तपुर जिल्ला प्रसासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई बिहीबार ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा गत २०७१ साल जेठबाट निर्माणको थालनी भए पनि निर्माण कम्पनीको लापरवाही र गैरजिम्मेवारीका कारण पटक–पटक गरी ६ पटकसम्म म्याद थप गरी कार्य सम्पन्न गर्दा पनि आयोजना पूरा नहुनु दुःखद भएको संघका जिल्ला अध्यक्ष रञ्जन मोहन सैंजुद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।

शैलुङ्ग कन्ट्रक्सन र एआईपीएल जेभीले निर्माणको जिम्मा लिएको १६ किलोमिटर सडक समयमा पूरा नहुँदा नगरकोटवासी र देशी–विदेशी पर्यटकले दुःख कष्ट पाएको र जोखिमपूर्ण यात्रा गर्नुपरेको युवा संघका केन्द्रीय नेता दीपक थापाले बताउनुभयो ।

ज्ञापनपत्र संघका जिल्ला अध्यक्ष संैजुले सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रेषित गरिएको हो ।

ज्ञापन–पत्र बुझ्दै सहायक प्रजिअ मुकेश कुमार केशरीले युवाहरूले विकासका काममा चासो राख्नु उत्साहप्रद भएको भन्दै पत्र गृहमन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा प्रक्रियाअनुसार पठाइने बताउनुभयो । उहाँले प्रशासन कार्यालय जिल्लाका विकासको समन्वय गर्ने निकाय समेत भएकोले जिल्लाबाट सडकको शीघ्र निर्माणमा गर्न सकिने पहल गर्ने बताउनुभयो ।

सडक निर्माणमा भएको ढिलाइका कारण धुलो, धुवाँ र हिलोले स्थानीय बासिन्दामा जटिल रोगहरू देखापरेको केन्द्रीय नेता थापाले बताउनुभयो ।

स्थानीय बासिन्दाले निर्माण कम्पनी परिवर्तन गरेर छिटो योजना सम्पन्न गर्न नेपाल सरकार लगायत सरोकारवालालाई दबाब सिर्जना गर्न गराउन संघर्ष समिति निर्माण गरी ध्यानाकर्षण गराएका र आन्दोलन गर्दै आएका छन् ।

आमजनताको भावनाविपरीत विगतका सरकारहरूले पटक–पटक एउटै कम्पनीलाई म्याद थप गराउने तर निर्माण कार्य नगर्ने गैरजिम्मेवार र जनताको जिउधनमाथि खेलवाड गर्ने स्थिति सिर्जना भइरहेको संघको ठहर छ । यसले गर्दा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको नगरकोट सुनसान हुन बाध्य भएको संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

संघले यस सडक छिटोभन्दा छिटो तोकिएको गुणस्तर, लागत र समयावधिभित्र सम्पन्न गर्नका लागि प्रधानमन्त्री कार्यालय, सडक विभाग र मातहत कार्यालय र निकायलाई समेत आवश्यक पहल कदमी तथा अनुगमन गर्नका लागि संघले जोडदार माग गरेको छ ।
एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा निर्माण कम्पनीले ०७३ कात्तिक ४ मा काम सक्ने गरी ०७१ जेठ २२ मा सडक विस्तारको सम्झौता गरेका थिए । पटक–पटक म्याद थपिए पनि काम पूरा भएको छैन ।

काम ढिला गरिँदा लागत रुपैयाँ बढेको छ । शुरूको सम्झौतामा २७ करोड ९० लाखमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३४ करोड रुपैयाँ कायम गरिएको छ ।

सडक विस्तार कार्य अलपत्र पारेपछि नगरकोटवासीले शैलुङ कन्स्ट्रक्सनका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए । गत वर्ष साउनमै प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले अनुगमन गरी तत्काल काम गर्न निर्देशन दिएको थियो । गत पुसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडकको अनुगमन गरेर काम छिटो सक्न ताकेता गरेका थिए ।
शैलुङ कन्स्ट्रक्सन प्रालिले कालोपत्र गर्ने बेलामा लकडाउन भएको र पछि खुकुलो हुँदा वर्षा शुरू भएकाले काममा ढिलाइ भएको र अब बाँकी अवरोध पन्छाएर शीघ्र निर्माण सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्