दिक्तेलबजारको कच्ची सडकमा दोस्रो चरणको ढलान



नेपाल समाचारपत्र, खोटाङ ।

खोटाङस्थित प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको कच्चीसडकमा दोस्रो चरणको ढलान कार्य अघि बढाइएको छ । गत वर्ष ढलान गर्न बाँकी रहेका सिचाइँ गेटदेखि नेपाल टेलिकमसम्म ७ सय ६४ घनमिटर सडक ढलान र ४ सय ५३ घनमिटर ग्याभिङ वालको कार्य अघि बढाइएको हो ।

कोरोना महामारीकै समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य अपनाउने गरी निर्माणकार्य अघि बढाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो । सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख लागतमा साउन २६ गते शुरु गरिएको ढलान कार्य कोरोनाको कारण नरोकिने जनाइएको छ ।

सूर्य विकास जेभी लहानले २०७८ मंसिर मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असार ९ गते उक्त कार्यको सम्झौता गरेको थियो । नियमितरूपमा अनुगमन गर्दा गुणस्तरयुक्त र स्टिमेटबमोजिम काम नभएको पाइए तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउने नगर प्रमुख रिजालको भनाइ छ ।

गत आर्थिक वर्ष दिक्तेलबजारस्थित रत्नपार्कको किराँतचोकदेखि सिँचाइ गेटसम्म आरसीसी ढलान गरिएको थियो । उक्त सडक खण्ड ढलानको काम गुणस्तरहीन भएको भन्दै दिक्तेलबजारबासीले असन्तुष्टी जनाएका थिए ।

यस्तै, त्रिवेणीचोकदेखि मालपोत कार्यालय अगाडिसम्म र पुरानो बैंकचोकदेखि झिसेपु मन्दिर जाने सडक खण्ड यसअघि नै सम्पन्न भएर सञ्चालनमा आएको छ । बजार क्षेत्रभित्रैको कच्ची सडक वर्षयाममा हिलाम्मे र हिउँदमा धूलाम्मे हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्