अझै हुन सकेन अक्सिजन प्लान्ट स्थापना


विनोदसिंह विष्ट, बैतडी ।

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको काम शुरु हुन सकेको छैन । गत असारभित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम गर्न नसेकेको हो ।

प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख बजेट प्राप्त भएको थियो । प्लान्ट स्थापनाका लागि बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेको भए पनि हालसम्म पनि जडानको काम शुरु नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताउनुभयो । यो आर्थिक वर्षको असारभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको हो । ‘असारमा अस्पताल र कम्पनीबीच सम्झौता भएको थियो, त्यसपछि कम्पनीले प्लान्ट जडानका लागि महिना थप गरिदिन निवेदन दिएको थियो’, डाक्टर जोशीले भन्नुभयो– ‘एक महिना थप गरेको अवधिमा पनि प्लान्ट जडानको काम शुरु भएको छैन ।’ उहाँले थप्नुभयो– ‘कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छांै, अझै नेपाल आइपुगेको छैन भन्ने जवाफ आउँछ ।’

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । तर, तेस्रो लहर आउने सम्भावना बढेको भए पनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने उपचारमा समस्या हुने देखिएको छ ।

बैतडीमा अक्सिजन प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था रहेको छ । बैतडीमा अक्सिजन प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने जनाइएको छ । प्रदेश र संघ सरकारले विनियोजन गरेको बजेटलाई एउटैमा मिलाएर प्लान्ट स्थापनाको तयारीको भएको हो । हाल कोभिड महामारीलाई केन्द्रित गर्दै निकट भविष्यमै उक्त प्लान्ट ५० शैय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्लान्ट स्थापना भएपछि कोरोना महामारीका लागि मात्रै नभएर निर्माणाधीन ५० शैय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने प्रमुख डाक्टर जोशी बताउनुहुन्छ । ‘प्लान्ट स्थापनाले ५० शैय्याको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य अप्रेसन, आईसीयू सञ्चालनका लागि पनि सजिलो हुन्छ ।’ –उहाँले भन्नुभयो ।

जिल्ला अस्पताल बैतडीमा १ सय बढी अक्सिजन सिलिन्डर छन् भने ३२ वटा अक्सिजन कन्सन्ट्रेटर छन् ।