मर्नुअघिको सन्देश– ‘सबैले खोप लगाउन पाउन्’


वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको एटलान्टा निवासी एक पुरुषले कोभिड–१९ संक्रमित भएर मर्नुअघि– ‘धेरैभन्दा धेरै व्यक्तिले खोप लिन पाऊन्’ भन्ने अन्तिम इच्छा व्यक्त गरेका छन् । शनिबार राति प्राण त्याग्नुअघि २८ वर्षीय ब्राडेरिक राइटले आफ्नी २५ वर्षीया पत्नी ब्रिटानी राइटलाई अन्तिम सन्देश दिएका थिए– ‘सबैले खोप पाऊन् । किनभने कोही पनि मानिसले मेरो जस्तो दुर्दशा नभोगून् भन्ने मेरो चाहना हो ।’ ब्रिटानीका अनुसार आफ्नो पतिले खोप लगाउन हिच्किचाएका थिए ।

डब्ल्यूएसबी–टेलिभिजन च्यानल–२ का अनुसार गत महिना मात्र खोप लगाएकी ब्रिटानी अझै दोश्रो डोजको पर्खाइमा बसेकी छिन् । टिकटकको अफवाहमा बढी विश्वास गर्ने गरेका उनले सरकारप्रति अविश्वास प्रकट गर्दै खोप लगाउने विचार त्यागेका थिए ।

लोग्ने–स्वास्नी दुवै जना कोरोना भाइरसबाट संक्रमित भए पनि अन्ततः ३० जुलाईमा ब्राडरिक मात्रै अस्पतालमा भर्ना भएका थिए । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत रहेका थिए । डाक्टरहरूले राम्ररी श्वास फेराउन घाँटीभित्र ट्युब छिराउनुअघि अन्तिमपटक उनलाई पत्नीसँग बोल्न लगाएका थिए । त्यसको केही घन्टापछि नै उनको मृत्यु भएको थियो ।

पाँच वर्षसम्मको प्रेम सम्बन्धपछि गत डिसेम्बरमा मात्र तिनीहरूको विवाह भएको थियो । उपचार र अन्त्येष्टिका लागि खर्च जुटाउन परिवारले ‘गोफन्डमी’ खडा गरेका छन् ।