तालिवान आक्रामक बनेपछि अफगानिस्तानका सेनाप्रमुख हटाइए


काबुल, (एजेन्सी) ।

तालिवान लडाकुहरूले सामरिकरूपमा महत्वपूर्ण अफगान शहर घाज्नीमाथि कब्जा गरेका छन् । एक साताभन्दा छोटो समयमा दशौं प्रान्तीय राजधानी लडाकुहरूको हातमा परेको हो । शहरबाट भागेका घाज्नीका गभर्नर र उनका सहायकलाई अफगान सुरक्षा फौजले गिरफतार गरेका छन् । राजधानी काबुल र कान्दहारबीचको मोटर बाटोमा पर्ने घाज्नी दक्षिण अफगानिस्तानमा रहेको तालिवानको बलियो पकड रहेको क्षेत्रलाई काबुलसँग जोड्ने गर्दछ ।

घाज्नी कब्जा गरेबाट तिनीहरू अन्तत काबुलमाथि नै धावा बोल्ने सुरमा रहेको अनुमान गरिएको छ । अहिले कुल ३४ वटा प्रान्तीय राजधानीमध्ये झन्डै एकतिहाइ तालिवानको नियन्त्रणमा पुगेको छ ।

केही सातायता तालिवान र सरकारी फौजबीचको भिडन्तको दौरान दशौं हजार सर्वसाधारण घर छाडेर भाग्न बाध्य भएका छन् भने अन्य सयौं जना मारिएका छन् । केही तालिवान कमान्डरले ती अफगानी जनतालाई पश्चिमी संस्कार र संस्कृति नत्यागेकोले मार्नुपरेको बताएका छन् ।

यसैबीच, तालिवानले धमाधम प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अफगान सरकारले आफ्नो सेनाप्रमुख नै फेरेको छ । सेनाप्रमुख जनरल वली मोहमद अहमदजाईलाई पदबाट हटाइएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनको योजना मुताबिक अमेरिकी नेतृत्वमा रहेको विदेशी फौज अफगान भूमिबाट फकाईएपछि तालिवानले आक्रमण तीव्र पारेको हो ।