विश्वमा अर्को प्राणघातक भाइरस मारवर्गको खतरा


जोहान्नेसवर्ग, (एजेन्सी) ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले एकजना पुरुषको अत्यन्तै छिटो संक्रमित हुने मारवर्ग भाइरसका कारण एक व्यक्तिको ज्यान गएको पुष्टि गरेको छ । विशेषगरी, फलफूल खाने चमेराबाट मानिसमा सर्ने गरेको बताइएको छ ।

पश्चिम अफ्रिकाको गिनी निवासी एक पुरुषको मारवर्ग भाइरसका कारण ज्यान गएको हो । यस भाइरसले मानव शरीरमा आन्तरिक रक्तश्राव र अंगहरू निष्क्रिय पार्ने गर्दछ । डब्ल्युएचओले यो भाइरस टाढा–टाढा व्यापकरूपमा फैलिने सम्भावना रहेको दाबी गरेको छ ।

डब्ल्यूएचओले नाम नखुलाइएका ती व्यक्तिको ९ अगस्टमा मृत्यु भएको पुष्टि गरेको छ । डब्ल्युएचओका अनुसार गिनीमा देखिएको यो पहिलो घटना हो । ती पुरुष बिरामी पर्नासाथ स्थानीय क्लिनिकमा उपचारका लागि पुगेका थिए । तर, हेर्दाहेर्दै छोटै समयमा उनको अवस्था गम्भीर बनेको थियो । गिनीको नेसनल ह्यामोरोह्याजिक फिचर लेबोरेटरी तथा सेनेगलस्थित इन्स्टिच्युट पास्चरका अनुसन्धानकर्ताहरूले उनलाई मारवर्ग भाइरस संक्रमित भएको पुष्टि गरेका छन् ।

डब्ल्युएचओले भनेको छ– ‘संक्रमित व्यक्तिले छोएका स्थान एवं उनको शरीरबाट निस्कने द्रव्यको संसर्गमा आएपछि स्वस्थ व्यक्ति पनि संक्रमित हुन पुग्छन् । संक्रमण भएको केही समयपछि नै बेस्सरी टाउको दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिन्छन् । सात दिनभित्र शरीरमा आन्तरिक रक्तश्राव हुन थाल्छ । हाल यसबाट हुनसक्ने मृत्युदर सम्भावना २४ देखि ८८ प्रतिशतबीच रहेको छ ।’

गिनीमा अन्य एक सय ५५ जनामा यसको निकटतम लक्षण देखापरेको र तिनीहरू स्वास्थ्यकर्मीको गम्भीर तथा निरन्तर निगरानीमा रहेको बताइएको छ ।