४१ लाख ठगी गर्ने युवक कारागार चलान



बैतडी, (नेस) ।

४१ लाखभन्दा बढी रकम ठगी गरेको आरोप लागेका एक युवक कारागार चलान भएका छन् । पाटन नगरपालिका–२ सिलंगाका ३४ वर्षीय कमलराम विकलाई कारागार चलान गरिएको हो ।

जिल्ला अदालत बैतडीले दिएको आदेशअनुसार कमलरामलाई पुर्पक्षका लागि कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । कमलराममाथि बिमा गरिदिने र अनुदान रकम दिलाउने भनेर प्रलोभन देखाई ठगी गरेको आरोप लागेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गरिदिने र विभिन्न अनुदान मिलाइदिने प्रलोभन देखाएर एक वर्षदेखि ४१ लाखभन्दा बढी रकम असुलेको आरोप छ । बिमा भरेमा अनुदान दिन्छु भन्दै ठगी गरेको भन्दै स्थानीय नागरिकहरुले दिएको जाहेरीको आधारमा प्रहरीले गत असारमा समातेको थियो । कमलराम विकसँगै भुवन औजी पनि संलग्न रहेको प्रहरीले बताएको छ । भुवन भने फरार रहेका छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । फरार औजी २०७० सालको संविधानसभा सदस्यका लागि स्वतन्त्रबाट उम्मेदवार रहेको बुझिएको छ ।

उनीहरुले महेन्द्रनगरबाट २५ लाख र बैतडीबाट १५ देखि २० लाख रकम संकलन गरेर स्थानीयलाई ठगेको आरोप लागेको थियो । उनीहरुले ठगेको भन्दै ६० जनाले उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्