मुख्यमन्त्री केसीसहित ७ सदस्यीय मन्त्रिमण्डल गठन

378
Shares

यमलाल भुसाल, बुटवल ।

माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रदेशप्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।

प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख शेरचनसामु सरकार गठनको दाबी पेस गरेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसी मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।

मुख्यमन्त्री केसीसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीलाई पनि प्रदेशप्रमुख शेरचनले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको छ । अन्य ६ मन्त्रीहरूमध्ये नेपाली कांग्रेसका डिल्ली चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्री रहनुभएको छ । जसपाका पूर्मती ढेंगा र सुमन शर्माले बिनाविभागीय मन्त्रीका रूपमा सपथ लिनुभएको छ । यसै गरी नवलपरासीबाट सूर्य चिह्नमा चुनाव जितेका अजय शाहीले पनि बिनाविभागीय मन्त्रीका रूपमा सपथ लिनुभएको छ । शाहीलाई नेकपा एमालेले पार्टीको नीति विपरीत गएको भन्दै कारबाही गर्ने जनाएको छ । यसपटक लुम्बिनी प्रदेशमा जसपाका तीनै जना सांसद मन्त्री बनेका छन् ।

विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिनुभएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको २४ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि दाबी गर्न आह्वान गर्नुभएको थियो । सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेस गरेको हो । यसअघि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले बुधबार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताउनुभएको थियो । उहाँका अनुसार आगामी फागुन २ गतेसम्म माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले र त्यसपछि कांग्रेस संसदीय दलका नेताको हैसिययतले कनौडियाले सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।