जीवनकै ठूलो चुनौती : घिसिङ

940
Shares

काठमाडौं, (नेस) ।

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी कुलमान घिसिङले पदबहाली गर्नु भएको छ । घिसिङले बुधबार पदबहाली गर्नु भएको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त घिसिङले आफ्नो चार वर्ष कार्यकाल पूरा गरी गत वर्षको भदौमा प्राधिकरणबाट बिदाइ हुनुभएको थियो ।

पदबहालीपछि आयोजित कार्यक्रममा घिसिङले आफ्नो व्यक्तिगत जीवनकै सबैभन्दा ठूलो चुनौती स्वीकारेर आएको र सरकारले दिएको जिम्मेवारी दृढताकासाथ बहन गरी आम शुभेच्छुकको विश्वासलाई फेरि पनि अझ उचाइमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।

‘म प्राधिकरणमा आउनैपर्छ भन्ने थिएन, सरकारले दिएको जिम्मेवारी र मलाई प्राधिकरणमै रहेको देख्न चाहाने सर्वसाधारणको अपेक्षालाई पूरा गर्न जीवनकै सबैभन्दा ठूलो जोखिम मोलेर आएको छु’, उहाँले भन्नुभयो–‘विगतमा गलत काम भएको भए सच्याउने, राम्रा कामलाई अगाडि बढाउने र नयाँ कार्यक्रम शुरु गर्ने भिजनसहित आएको छु, कसैको कुरा काट्ने र विरोध गर्नेभन्दा पनि सरकारकाले दिएको निर्देशन तथा कार्ययोजना कार्यानयनका गर्न कठोर भएर काम गर्नुपर्ने छ ।’

‘विगतमा हासिल भएका उपलब्धिलाई संस्थागत गर्नु, उत्पादित विद्युत् खपत बढाउने तथा बजार व्यवस्थापन गर्ने, विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्ने उत्पादन, प्रसारण तथा वितरणतर्फका निर्माणाधीन आयोजनाको काम सम्पन्न गर्ने र नयाँ शुरुआत गर्ने, विद्युतीकरण गर्ने, संस्थागत सुशासन कायम गरी सेवा प्रवाह सुधार गर्नेतर्फ केन्द्रित हुने छौं’ उहाँले भन्नुभयो ।

कार्यक्रममा प्राधिकरणको अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले चुहावट हटाउन, संस्थाको नाफा बढाउन कार्यकारी निर्देशक घिसिङको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो । ‘बिरामी प्राधिकरणको उपचारका लागि कार्यकारी निर्देशक डाक्टर भएकाले संस्थालाई बचाउन शल्यक्रिया गर्ने, काट्ने उहाँकै हातमा छ’, कोइरालाले भन्नुभयो ।