कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनीपरक कृति कलाकार जीवनवृत्त सार्वजनिक भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले राजधानीमा आयोजित कार्यक्रमका बीच कृतिको विमोचन गरेका हुन्।
उनले राजनीति, साहित्यलगायतका विधामा धेरै लेखक सक्रिय रहे पनि कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको चर्चा गरे। उनले कलालेखनमा लेखकलाई प्रोत्साहित गर्न लेखक र कला पत्रकारलाई वर्षेनी प्रतिष्ठानले सम्मान गर्दै आएको जनाए। ‘कलाकारका सिर्जनालाई दस्तावेजका रूपमा संग्रह गर्न प्रतिष्ठानले प्रयास गर्दै आएको छ। आगामी दिनमा कला र कलाकारका बारेमा प्रतिष्ठानले यो कामलाई अझै व्यवस्थित ढंगले निरन्तरता दिँदै जानेछ’ कुलपति कर्माचार्यले भने।
कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले कला विषयका प्रकाशन जति धेरै गर्न सक्यो, त्यो कलाक्षेत्रकै लागि महत्वपूर्ण हुने धारणा राखे। नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले ओझेलमा परेको थाङ्का र पौभा कला र कलाकारका बारेमा पुस्तक आउनु सराहनीय कार्य भएको बताए। पुस्तक नेपाली थांङ्का र पौभा कलाकारको दस्तावेजको शुरूवात भएको र शृंखलाबद्धरूपमा अन्य कलाकारको जीवनी लेख्न र प्रकाशन गर्न लेखक र प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा काम गर्नुपर्नेमा उनले जोड दिए।
समालोचक तेजविलास अधिकारीले पुस्तकमाथि टिप्पणी गर्दै नेपाली कला इतिहासलाई व्यवस्थित ढंगले लेख्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे। प्रतिष्ठानका परम्परागत तथा शिल्पकला विभागप्रमुख प्राज्ञ बुद्धि गुरुङले नेपाली परम्परागत कलाकारका बारेमा कमै मात्र अनुसन्धान र खोज भइरहेको जिकिर गर्दै यसको विकास, प्रसार प्रसार, प्रवद्र्धन तथा संवद्र्धनमा प्रतिष्ठानले काम गर्दै आएको बताए। पुस्तक लेखनका क्रममा कोरोना महामारीका कारण निकै कठिनाइको सामना गर्नुपरेको सुनाउँदै पुस्तकका लेखक थुम्केलीले आगामी दिनमा छुटेका र प्रतिभाशाली कलाकारलाई बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरे। विमोचित पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको हो। एक सय ७२ पृष्ठको पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारको जीवनी समेटिएको छ। कलाकार मानबहादुर दोङ, वाङ्छु मोक्तान लामा ‘आरके’, लालमान लामा, निमा लामा, भीमबहादुर लामा, होमबहादुर लामा, सुरेन्द्रमान शाक्य, सुन्दर सिंख्वाल, फुर्नाम्गेल मोक्तान, झिग्मे तामाङ ‘मुगुम झिग्मे’, अशोक लामा र पाल्साङ्मो लामाको जीवनी, कलागत प्रवृत्ति तथा कृतित्वको चर्चा गरिएको छ। पुस्तकमा कलाकारको जीवनीसँगै रंगीन चित्रसमेत समावेश गरिएको छ। पुस्तकको मूल्य तीन सय रुपैयाँ रहेको छ।
प्रतिक्रिया