हाई भोल्डेजका तार जुद्धा गाउँका उपकरण नष्ट, स्थानीयले प्राधिकरणसँग मागे क्षतिपूर्ति



सरस्वती न्यौपाने, रसुवा ।

साउन २४ गते रसुवाको कालिका गाउँपालिका–२ कालिकास्थानमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले काम गर्दैगर्दा हाई भोल्डेजका तार जुद्धा २ र ३ नम्बर वडाका अधिकांश घरको विद्युतीय सामग्री जलेको भन्दै स्थानीयले विद्युत प्रधिकरणसँग क्षतिपूर्तिको माग गरेका छन् । चिलिमे जलविद्युत् केन्द्रबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्ने हाई एक्सनटेन्सन लाइनमा शाखाको लाइनको तार जुधेको थियो ।

उक्त गाउँमा हाईभोल्डेजले विद्युतीय उपकरणमा घरको टिभी, ल्यापटप, मिटर, इन्टरनेटको राउटर, मल्टिप्लग, डुम लामलाइट, केवलतार, चिम, चार्टर, सेटअप बक्सलगागतका विघुतीय उपकरणहरू जलेकाले उचित क्षतिपूर्तिको माग गरिएको कालिका–३ का रामचन्द्र ढकालले बताउनुभयो । कालिका–२ र ३ वडाका केही मानिसले बेग्लाबेग्लै निवेदन दिएका छन् भने २६ गते ३१ जनाले क्षतिको विवरण संकलन गरी संयुक्त निवेदन पेस गरिएको स्थानीय राजु आर्चायले बताउनुभयो । ‘मेरो आफ्नै बारीमा प्राधिकरणका कर्मचारीले काम गर्दा तार जुधेको थियो । तर, प्राधिकरणको वितरण केन्द्र कालिकास्थानले भने हाम्रो गल्ती होइन भनेर पन्छिएको छ ।’ –प्रत्यक्षदर्शी वडा नम्बर ३ कटुन्जेका कोमलनाथ न्यौपानेले भन्नुभयो ।

भुलवश घटना भएको स्वीकार गरे पनि घटना भएको ३ दिन बित्दासमेत कार्यालयले घटनाको कारण सार्वजनिक नगरेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ताले कालिका गाउँपालिका, इलाका प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण धुन्चे शाखामा समेत जानकारी दिएका छन् । नेपाल विद्युत् प्राधिकरण कालिकास्थान वितरण केन्द्रका इन्चार्ज घनश्याम शाहले निवेदन माथिल्लो निकायमा पठाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्